आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

साउदीबाट श्रीमानले पठाएकाे दुई लाख रूपैयाँ बाटाेमै लुटियो

पैसा लुटिएपछि सञ्‍चारकर्मीसँग पीडा पाेख्‍दै पीडित शर्मिला यादव ।

जनकपुरधाम- जनकपुरधामबाट दिनदहाडै एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ ।

सोमबार दिउँसो जनकपुरधाम मिल्स एरियास्थित एभरेष्ट बैंकबाट पैसा निकालेर घरतर्फ गइरहेकी जनकपुरधाम १ निवासी शर्मिला यादवको दुई लाख रुपैयाँ राखिएको झोला मोटरसाइकलमा आएका दुई जनाले लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।​

सञ्‍चारकर्मीसँग कुरा गर्दै पीडित महिला शर्मिलाले वैदेशिक रोजगार साउदीमा रहेका आफ्ना श्रीमान देवशरण यादवले पठाएको रुपैयाँ एभरेष्ट बैंकबाट निकालेर गइरहेको बेला मिल्स एरियास्थित मोनाष्टिक स्कुल नजिक मोटरसाइकलमा आएका दुई जनाले रुपैयाँ राखिएको झोला लिएर फरार भएको बताइन् । 

यता धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले रकम लुटेर फरार भएकाहरुको खोजी भइरहेको बताए । उनले मोटरसाइकल नम्बर पहिचान हुन नसकेका कारण लुटेराहरुलाई पक्राउ गर्न समस्या भइरहेको तर छिट्टै पक्राउ गर्ने जिकिर गरे ।