मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण

काठमाडौं : भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको लोकार्पण गरेकी हुन् ।

गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत-नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो । यस पुस्तकले शाान्ति र अहिंसाका प्रतिमूर्ति महात्मा गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचार पुस्तकमा समावेश छ ।

विद्यालयको भवन निर्माण
भारत सरकारले २ करोड ६२ लाख रुपैयाँ सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवन निर्माण भएको छ ।

१५ वटा कक्षा कोठा र सरसफाई सुविधासहितको उक्त तीन तल्ले विद्यालय भवनको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई धनुषा, काठमाडौंस्थित भारतीय राजदूतावास तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरुले उक्त भवनको उद्घाटन गरेका छन् ।

सन् १९५६ मा स्थापना भएको उक्त विद्यालयमा करिब १,१०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।  भारतीय दूतावासले हालसम्म भारतले नेपालभित्र ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको जनाएको छ ।