बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयोः शेखर गोल्छा

फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको दाबी गरे ।

अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको उल्लेख गरे । उनले अहिले सीमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताए । बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने उनकाे भनाइ छ  । उनले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने जिकिर गरे ।

अध्यक्ष गोल्छाले उद्योगहरुले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रीय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्‍ने निजी क्षेत्रले अपेक्षा गरेको बताए ।

अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठ्यारोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राखे । उनले ५५ लाख सेयर लगानीकर्ताले धेरै गुमाइसकेको मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोको ४/१२ सीमा हटाएर सेयर लगानीकर्तालाई राहत पुग्‍ने नीति लिनुपर्ने बताए । अध्यक्ष गोल्छाले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीति मार्फत पुनर्विचार गर्न माग गरे ।