बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित

कञ्चनपुर - कञ्चनपुर उद्योग वाणिज्य संघको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको आज सम्पन्न मतगणनामा संघका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । 

निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गरे भने पराजित जोशीले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित भएका छन् । महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८०० मत प्राप्त गरेका छन् । 

शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य संघ कञ्चनपुरले जनाएको छ । यसअघि संघको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसैगरी संघको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।
रासस