आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एक वर्षमा १३६ फरार प्रतिवादी पक्राउ, अझै २२२३ फरार

हेटौँडा : फरार प्रतिवादीहरू मकवानपुरमा धमाधम पक्राउ पर्न थालेका छन् ।  विभिन्‍न मुद्धाका ६ प्रतिशत फरार प्रतिवादीहरू हालसम्म पक्राउ परिसकेका छन् । चालू वर्षको आजसम्म १ सय ३६ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी बताए । 

जिल्ला अदालत मकवानपुरको फैसलाले विभिन्‍न मितिमा कैद सजाय तथा जरिवाना तोकिए पनि अटेर गरेर फरार भएकाहरूलाई प्रहरीले पक्रन सुरु गरको हो । जिल्लामा २ हजार २ सय २३ जना फरार प्रतिवादीहरू पक्राउ पर्न अझै बाँकी छन्  । जिल्ला अदालत मकवानपुरले चालू वर्षको फागुन महिनासम्म सो संख्यामा फरार प्रतिवादीहरू भएको जानकारी दिएको हो । ती मध्ये चालू वर्षको आजसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३६  फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराईसकेको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार एक सय रुपैयाँ जरिवाना तिर्न बाँकी देखि लागूऔषध मुद्धा, कर्तव्य ज्यान मुद्धा तथा कैद भुक्तानी बाँकी भएका फरार प्रतिवादीहरू पक्राउ परेको छन् ।

गत वर्षहरूको तुलनामा यो वर्ष फरार प्रतिवादीहरू जिल्लामा धेरै पक्राउ परेका उनले दाबी गरे ।  ‘गत वर्षमा जिल्लामा विभिन्‍न मुद्धामा फरार भएकाहरू कमै पक्राउ पर्थे । तर यसवर्ष भने फरार प्रतिवादीहरूको पक्राउ पर्ने ग्राफ नै परिवर्तन भयो’ उनले भने  ।

गत वर्ष ५ जना फरार प्रतिवादी पक्राउ गरेको मकवानपुर प्रहरीले आर्थिक वर्ष ७५/७६ मा भने १६ जना फरार प्रतिवादी पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सबै फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने योजना बनाएको छ । प्रहरी नायब उपरीक्षक रिमालले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न छुट्टै टिम नै परिचालित भएको जानकारी दिए ।