आर्थिक अवस्था सुधारको राय सुझावका लागि प्रधानमन्त्रीसमक्ष पुग्यो सिबिफिन

काठमाडौंँ - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेटघाट तथा छलफल गरेको छ । आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गरेको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरूको बारेमा सिबिफिनको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसमक्ष भेटघाट गरी विस्तृत जानकारी गराएको छ ।
भेटघाटका क्रममा सिबिफिनले वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरूको सहकार्यमा अध्ययन गरी तयार गरेका बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा र चुनौतिहरू र सम्बोधनका लागि सुझावहरू–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरू–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरू र वर्तमान समयमा जल्दाबल्दा देखिएका विभिन्न आर्थिक एवं वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरूमा तयार तीनमहले सुझाव समेत प्रधानमन्त्रीसमक्ष बुझाएको छ ।
सिबिफिनका अध्यक्ष गोल्यानले कोभिड–१९ र विश्वमा घटेका विभिन्न घटनाक्रमबाट नेपालको अर्थतन्त्रमा परेका प्रभावहरूको न्यूनिकरण र समस्याग्रस्त उद्योग व्यवसायहरूको पुनरुत्थान, घरेलु, साना तथा मझौला उद्योगहरूको स्तरोन्नति, तरलताको समस्या समाधान, विप्रेषणको व्यवस्थापन, आयात–निर्यातवीचको असन्तुलन, बढ्दो व्यापार घाटा, उत्पादन तथा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र उद्यमशिलताको विकाससहित बजेटले प्रक्षेपण गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा जानकारी गराउँदै, अध्ययन प्रतिवेदनहरूले औल्याएका निष्कर्ष एवं सुझावहरूको सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गरे ।
त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले पेश गरिएका प्रतिवेदनको निष्कर्ष तथा सुझावहरूको बारेमा प्रधानमन्त्रीसमक्ष संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।
सिबिफिनद्वारा बुझाइएका प्रतिवेदन र सुझावहरू ग्रहण गर्दै, देउवाले सिबिफिनले प्रस्तुत गरेका सुझाव र प्रतिवेदनहरूले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरू र निर्यातजन्य वस्तुहरू, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरूमा विशेष जिज्ञासा राखेका थिए । त्यसैगरी वर्तमान अवस्थामा देखिएका समग्र चुनौतीहरूको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने आश्वासन दिए।
प्रधानमन्त्रीको निजी सचिवालय, बालुवाटारमा भएको उक्त भेटघाट तथा छलफलमा माननीय राज्यमन्त्री उमेश श्रेष्ठ, सिबिफिनको प्रतिनिधि मण्डलमा उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो । साथै, उक्त भेटघाटमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
नेपाल सरकारका विभिन्न निकायहरूबाट प्रकाशित प्रतिवेदनहरूमा औल्याइएका आर्थिक एवं वित्तीय सूचकाङ्कहरूले मुलुकको अर्थतन्त्र जटिलतातर्फ उन्मुख भइरहेको विषयले साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र निजी क्षेत्रका व्यक्तिहरूमा समेत अर्थतन्त्रका बारेमा चिन्ता र चासो बढाएकोे वेलामा प्रधानमन्त्रीसमक्ष गरिएको यो भेटघाट उपलब्धिमूलक भएको सिबिफिनले ठहर गरेको छ ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया