शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

दुई वर्षअघि ट्रायथलनमा हाफ बनेका आलोक नेपालकै पहिलो 'फुल आइरन म्यान'

संसारकै कठिन मानिने खेल १३ घण्टा ४७ मिनेटमा पूरा

काठमाडौँनेपालका आलोक खत्री जर्मनको फ्रयांकफर्टमा भएको ट्रायथलनमा सहभागी भइ 'फुल आइरन म्यान' भएका छन् । काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाका आलोकले ३ दशमलव ८६ किलोमिटर पौडी, ४२ दशमलव २ किलोमिटर र १८० दशमलव २ किलोमिटर दूरी साइकलमा पार गरेका हुन् ।

खेल समयावधि अघि  उनले  आफ्नो खेल पूरा गरेका थिए । उक्त खेलको पूरा समय १५ घण्टा हुने गर्छ । खत्री नेपालको पहिलो 'आइरन म्यान'को रुपमा परिचित छन् । सन् २०१९ मा ट्रायथलन मलेसियामा उनी सहभागी भएर 'हाफ आइरन म्यान' भएका थिए । यसपटक भने उनी 'फुल' आइरन म्यान भएका छन् ।

३१ वर्षीय खत्री यसपटक जर्मनमा भएको पूरा ट्रायलथानमा पनि सहभागी भए । उनले सम्पूर्ण रेस हिजो मात्र पार लगाएका हुन् ।

उनले तीन वटै खेल १३ घण्टा ४१ मिनेट ५७ सेकेण्डमा पूरा गरेका थिए । पौडी १ घण्टा ३३ मिनेट १४ सेकेण्ड, साइकल रेसिङ ६ घण्टा ३६ मिनेट १५ सेकेण्ड र ५ घण्टा १२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे । यो खेललाई संसारकै कठिन खेल मान्ने गरिन्छ । एकै दिनमा तीनै खेल खेल्नुपर्ने हुन्छ ।

आलोकले भारत र अमेरिकाका प्रशिक्षकसँग अनलाइनबाट तालिम लिने गरेका थिए । भारत र नेपालका प्रशिक्षकसँग उनले नौ महिनासम्म तालिम लिएका थिए । साइकल रेसिङमा उनले आफ्नै साइकल प्रयोग गरेका थिए । उनले नेपालबाट साइकल लिएर गएका थिए ।

उनले प्रयोग गर्ने साइकलका लागि भने नेपालको सडक संरचना राम्रो नभएको बताइएको । समय-समयमा साइकल पन्चर भइरहँदा प्रशिक्षणका क्रममा उनलाई कठिन भएको थियो ।  यसपटकको 'फुल आइरन म्यान' खेलमा विश्वभरका पाँच हजार खेलाडी सहभागी भएका थिए ।

सन् १९७८ मा आइरन म्यान' खेल पहिलोपटक अमेरिकामा भएको थियो । अमेरिकी नौ सेना कमाण्डर जोन कोभिन्स र उनको श्रीमतीले सुरु गरेका थिए । पहिलो कार्यक्रममा अमेरिकाको हवाईमा १५ जना खेलाडीहरूको सहभागिता रहेको थियो । त्यसबेलादेखि 'एनिथिङ इज पोसिबल' नारासहित मानवको बाधा हटाउन यो खेल सुरु भएको हो । ​