दुईवटा टावर गाड्न रोक्ने मुद्दा खतिवडा र ढुंगानाको इजलासमा

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणलाई २ वटा टावर गाड्न दिने कि नदिने भन्ने मुद्दा सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ ।
यो मुद्दा परी नवलपरासीको दुम्कीबास भन्ने ठाउँमा दुईवटा टावर रोक्ने अन्तरिम आदेश जारी भएको १४ महिनापछि गत जेठ ३१ गते न्यायाधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजालसमा परेको थियो । उक्त इजलासले कागजात झिकाउने आदेश दिएपछि आज खतिवडा र ढुंगानाको इजलासमा परेको हो । सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश पुरुषोत्तम भण्डारीले २०७७ चैत २५ गते अन्तरिम आदेश जारी गर्दै हेटौंडा बर्दघाट २२० केभी प्रसारण लाइन अन्तर्गत नवलपरासीको दुम्कीवासस्थित २ वटा टावर निर्माण कार्यमा रोक लगाएका थिए ।
त्यसयता उक्त मुद्दाको सुनुवाई भएको थिएन । चैतमा अन्तरिम आदेशले रोकिएको निर्माण कार्यसम्बन्धी उक्त मुद्दा गत साउन ४ गते न्यायाधीशद्वय तेजबहादुर केसी र डा. कुमार चुडालको इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ मा पुगेको थियो ।
गत वर्षको साउन ३२ गते पुनः मुद्दा पेशीमा चढी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासमा परे पनि पुनः ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाई हुन सकेन । त्यसपछि एकैचोटि गत असोज १८ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले ‘पूर्ण सुनुवाईका लागि पेश गर्ने, अग्राधिकार दिने’ आदेश दिएको थियो ।
अग्राधिकार पाएको उक्त मुद्दाको पेशी गत पुस १९ गते तोकियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासले पुनः ‘हेर्न नभ्याइने’ भन्यो । पुसबाट यो मुद्दाको पेशी एकैचोटि फागुन २९ गते पुग्यो । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासले पनि ‘हेर्न नभ्याइने’ भन्यो ।
‘हेर्न नभ्याइने’ क्रम झेल्दै आएको यो मुद्दाको पेशी एकैचोटी गत जेठ ३ गते चढ्यो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा पर्यो । अग्राधिकार भनिएको यो मुद्दालाई मल्ल र रेग्मीको इजलासले पनि पुनः ‘हेर्न नभ्याइने’ भन्यो ।
जहिले पेशी चढ्दा पनि ‘हेर्न नभ्याइने’ भन्दै आएकोमा आज इजलसाबाट सुनुवाईको मिति तोकिने भएको छ ।
२४४ वटा २२० केभीका टावर बनाइसकेपछि दुम्कीवासमा आइपुग्दा जौमाया बिकको नामबाट सर्वाेच्च अदालतमा २०७७ चैत २४ गते रिट दर्ता भयो । दर्ता भएकै भोलिपल्ट न्यायाधीश भण्डारीले कारण देखाउ आदेश र यथास्थितिमा राख्ने फैसला गर्दै अन्तरिम आदेश जारी गरेका थिए ।
यो प्रसारण लाइन निर्माणका क्रममा टावर नं. जीआई९८ र जीआई ९९ पर्ने मार्गाधिकार (राइट अफ वे) सार्नुपर्ने माग राख्दै स्थानीय वासिन्दाले अवरोध गरे । आदिवासीहरुको मानव अधिकारीसम्बन्धी वकील समूह (लाुहरनिप) भन्ने संस्थाको अगुवाईमा सर्वोच्च अदालतमा मुद्दा हालिएको थियो ।
यही प्रसारण लाइन नभएका कारण विद्युत् प्राधिकरणले २०७७ र २०७८ सालको वर्षायामको जगेडा बिजुली पूरै खेर फाल्नुपरेको थियो । २०७७ सालमा पाँच सय मेगावाट र २०७८ सालमा ६ मेगावाट बिजुली खेर गएको थियो ।
कालीगण्डकी ए, मध्य मर्स्याङदी, मर्स्याङदीसहित निजी क्षेत्रले उत्पादन गरेका बिजुली पश्चिम पठाउन यही लाइन आवश्यक पर्छ । त्यही भएर यसलाई ‘बोटल नेक’ (अवरोध) मानेर उच्च प्राथमिकतामा राखेको थियो ।
२२० केभी डबल सर्किट निर्माण सम्पन्न भइसकेपछि भरतपुरदेखि पश्चिम नेपालसम्म ५ सय मेगावाटको बिजुली प्रवाह गर्न सकिन्छ । अहिले पश्चिम नेपालमा बिजुली नभएकाले टनकपुरबाट ६० मेगावाटसम्म बिजुली आयात गर्नुपरेको छ । यही आयातीत बिजुली पनि प्रसारण लाइन अभावका कारण यो खण्डमा त्यति भरपर्दाे तवरले आपूर्ति हुन सकेको छैन ।
यो आयोजना सन् २०१० मा निर्माण सुरु भएको थियो । हालसम्म एक अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख साह बताउँछन् । उनका अनुसार यो आयोजना अब पूर्ण रुपमा निर्माण सम्पन्न गर्न एक करोड रुपैयाँ मात्र लाग्नेछ ।
मार्गाधिकार (राइट अफ वे) र वन क्षेत्रको निकासी (क्लियरेन्स) मा अल्झेको यो आयोजना २४४ मध्ये २४४ वटा टावर र तार तान्ने काम पूरा हुँदा पनि ‘निर्माणाधीन’ न छ । आयोजनाको भरतपुर र बर्दघाट सवस्टेशन पनि सञ्चालनमा ल्याइसकको छ, तर तार जोड्न भने पाएको छैन ।
होङ्शी सिमेन्टले थप ६० मेगावाट र भारतको बिहारले रामनगरबाट ५० मेगावाट विद्युत मागिरहे पनि यो लाइन पूरा नभएकै कारण प्राधिकरणले दिन सकेको छैन ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया