मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य : अब पेट्रोल १७९ र डिजेल १६३ रुपैयाँ प्रतिलिटर

काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको हो।

शनिबार पत्रकार सम्मलेन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। उनका अनुसार डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाउने उनले बताए । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।