सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सालको गोलियासहित तीन जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेतबाट ३० थान सालको गोलियासहित ३ जना पक्राउ परेका छन । आज बिहान ४ बजेतिर ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सालका गोलिया बरामद गरिएको हो ।

सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त गस्ती टोलीले गोप्य सूचनाको आधारमा गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर दिर्घ विक, रमेश विक र अर्जुन विक रहेको सहायक वन अधिकृत चौधरीले बताए । उनले फरार रहेका ४ जनाको प्रहरीको सहयोगमा खोजी भइरहेको बताउँदै पक्राउ परेका ३ जनालाई आज नै थप कानुनी कारबाहीका लागि धनगढी चलान गरिएको बताए ।