सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

छोरा नजन्माउँदाको पीडा

भक्तपुर - भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुन् । दशक अगाडि भागेर विवाह गरेकी उनी छोरा नभएकै कारण श्रीमानसँग छुट्टिएर बस्न बाध्य भएकी छन् । उमेरले भर्खर ३१ वर्ष पुगेकी ती महिला अहिले छोरीको उज्ज्वल भविष्यका निम्ति कामको खोजीमा भौतारिँदै हिँडिरहेकी छन् । परिवारको सहमतिविना विवाह गरेकैले उनलाई माइतीमा बस्न पनि सहज छैन ।

घरपरिवार र समाजको परम्परावादी सोचका कारण छोरा नपाएपछि ती महिलालाई दुई वर्षअघि घर निकाला गरिएको थियो । घर निकाला गरेपछि माइतीको शरणमा पुगेकी उनलाई दुई/चार दिन दाजुभाउजुले राम्रै व्यवहार गरे तर पछि छोरी श्रीमानलाई जिम्मा लगाएर दोस्रो विवाह गरी घरजम गर्न दबाब दिन थालेको ती महिला बताउँछिन् । “केही समय आमाबुबाको मुख हेरेर सहेरै बसेँ”, उनी भन्छिन्, “अवसरको खोजीमा बसेका दाजुभाउजुले माइतीबाटै निकाल्न टोलकै श्रीमती मरेका एक जनासँग विवाह गर भनी दबाब दिन थाले । दोस्रो विवाह गरे छोरी अलपत्र हुने चिन्ताले माइतीघर छाडेर कोठा लिएर बसेँ ।”    
    
“साथीभाइ सबैले श्रीमानविरुद्ध मुद्दा दायर गरेर सम्पत्ति लिनु भन्छन् तर मसँग विवाह दर्ता प्रमाणपत्र छैन । मुद्दा गर्न पैसा पनि छैन । माइतीको भरोसा पनि छैन । मेरो कमाईले खान पनि पुग्दैन । सहयोगका लागि वडामा गए पनि कुनै उपाय लागेन”, ती महिलाको गुनासो छ । तीन , छ र नौ वर्षकी तीन छोरी साथमा लिएर घरबाट निस्किएकी उनी केही समय साथीको घरमा बसिन् । त्यहाँ पनि त्यसै बस्ने वातावरण नभएपछि भाडा तिरेर बस्न थालेको उनी बताउँछिन् । पढ्ने लेख्ने समयमा विवाह गरेकीले अहिले मजदुरीको काम रोज्नु परेको उनको भनाइ छ।    
    
ती महिलासँगै मजदुरी गर्दै आएकी भक्तपुर नगरापालिका–८ कै अर्की एक महिला छिन् । उनको उमेर अहिले ५८ वर्ष लागिसक्यो । माइतीमा एक्लो छोरी भएकी ती महिलाको मागी विवाह भएको थियो । विवाह भएको पाँच वर्षसम्म सन्तान नपाउँदासमेत वैवाहिक जीवन सहजै चल्दै थियो । ती महिलाको विवाह भएको छ वर्षमा एकैपटक तीन छोरीलाई जन्म दिइन् । भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी, सुखी र बलियो बनाउँछ तर उनको जीवनमा भने त्यस्तो हुनसकेन । पहिलो सन्तान छोरीको जन्मसँगै उहाँलाई श्रीमानले साथ छाडे । सुत्केरीमा माइती गएकी ती महिलालाई श्रीमानले घरपरिवारको कुरा सुनेर फर्केर पनि हेर्न आएनन् । तीन छोरीसहित माइतीमा बस्दै आएकी उनलाई आमाबुबा छउञ्जेल खासै समस्या झेल्नु परेन ।    
    
बुबा व्यापारी भएकाले छोरीलाई आवश्यकपर्ने सम्पूर्ण खर्च बुबाआमाले बेहोर्दै आए तर लामो समयदेखि माइती बस्दै आएकी ती महिलाको बुबाको मृत्युपछि दाजुभाइको व्यवहारले घरबाट निस्किन बाध्य गरायो । अहिले कोठामा एक्लै बस्ने ती महिला भन्छिन्, “तीन छोरीमा माइली बिरामी भएर मरिन । दुई छोरीको बिहे गरिदिएँ । अहिले म एक्लै कोठामा बस्छु । श्रीमानके जग्गा जमिन धरै भए पनि कानुनी उपचारका लागि खर्च गर्न मसँग पैसा छैन ।”    
    
त्यस्तै भक्तपुर नगरपालिका–१० कमलविनायककी अर्की एक महिला पनि पाँच वर्षदेखि चार छोरीसँग भाडाको कोठामा बस्दै आएकी छन् । छ वर्ष अगाडि क्यान्सरले श्रीमान् बितेर एक्ली भएकी भएकी उनलाई छोरा नभएकै कारण सम्पत्ति नदिने भनी सासू र जेठाजुले घरबाट निकालेकाले कोठा भाडा लिएर बस्दै आएकी छन् । श्रीमान् भएसम्म अलि खटपट भए पनि घरै बस्दै आएकी उनलाई श्रीमान् बितेको एक वर्षमै घरबाट निकालिएपछि अहिले ज्याला मजदुरी गरी छोरी र आफ्नो जीवन निर्वाह गर्दै आएकी छन् । “सम्पत्तिका नाममा भएको दुई वटा घर र सात रोपनी जग्गा सबै श्रीमान्को मृत्युपश्चात् जेठाजुका नाममा नामसारी गरे । मलाई केही पनि छैन । अरु मान्छे पठाएर कुरा गर्दा मेरो श्रीमान्को उपचारमै धेरै खर्च भयो । अब पाउँदिनस् भनेर पठाउँछन्”, उनले भनिन्, “सासुले तँ छोरा नभएकालाई सम्पत्ति किन चाहियो भन्नुहुन्छ । मुद्दा हाल्न मसँग नागरिकताको प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र पनि छैन । सबै सासूसँग छ ।”    
    
परम्परागत सोच हाबी भएको हाम्रो समाजमा अहिलेको जमानामा पनि छोरा नभए मर्ने बेला स्वर्गमा जान्न पाइँदैन भन्ने सोच छ । यसले गर्दा धेरै महिला यस्तो किसिमका घरेलु हिंसा सहन बाध्य भएको पाइन्छ । यसरी हिंसामा परेका महिलाका लागि आफू काम गर्ने थलो नै जीवन जीउने आधार बन्नाका साथै दुःख सुखको चौतारी बिसाउने थलो बनेको छ ।    
महिलामाथि हिंसा भयो भने न्याय पाउनका लागि लिखितरुपमा प्रमाणित भएको कागजपत्रले उपचार पाउने कानुनी व्यवस्था छ । अधिवक्ता राजकुमार सुवालका अनुसार महिलाको हकमा विवाह दर्ता र जन्म दर्ता नभएकाको हकमा, महिलामाथि हिंसा भई छुट्टिएको अवस्थामा बच्चालाई विद्यालय भर्ना गरेको, अस्पतालले जन्मेका बेला दिएको कागजातलाई प्रमाणको रुपमा लिएर कानुनी उपाचार गराउन सकिन्छ ।    
    
भक्तपुर महानगरीय प्रहरी प्रभागका महिला सेलका प्रमुख श्रीयङ्का बस्नेत छोरा नभएकै कारण घरबाट निकालिनु परेकामा अहिलेसम्म कुनै उजुरी नआएको बताउँछिन् । श्रीमान् र घरपरिवारले कुटपिट गरेको खान नदिएको, श्रीमान् अन्य महिलासँग लागेको जस्ता उजुरी भने आउने गरेको उनको भनाइ छ । प्रहरीमा दर्ता भएका अधिकांश निवेदनमा दुवै पक्षका आफन्त बसेर मिलापत्र गराउने गरिएको महिला सेल प्रमुख बस्नेत बताउँछिन् । रासस