बिजुली उत्पादन गर्ने म्याद थपको इप्पानले गर्यो स्वागत
काठमाडौं । व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) को म्याद एक वर्ष थप गर्ने ऊर्जा मन्त्रालयको निर्णयलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले स्वागत गरेको छ । मन्त्रालयको उक्त निर्णयले ऊर्जा क्षेत्रमा ठूलो राहत महसुस हुनुको साथै यो क्षेत्र उत्साहित भएको इप्पानले प्रतिक्रिया दिएको छ ।
‘यस्तो राहत प्रदान गरेर सरकारले स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई अप्ठयारो परेको अवस्थामा राज्यले अभिभावकत्व प्रदान गर्छ भन्ने सन्देश प्रबाह गरेको इप्पानको ठहर छ,’ इप्पानले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आगामी दिनहरुमा विद्युत खरिद बिक्री सम्झौता (पीपीए) लगायत ऊर्जा क्षेत्रमा देखा परेका अन्य समस्याहरु समाधानका लागि मन्त्रालयको यस्तै अभिभावकीय भूमिका रहन्छ भन्ने इप्पानको पूर्ण विश्वास छ ।’
इपानले कोभिड महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका कारण अन्य क्षेत्रजस्तै जलविद्युत क्षेत्र पनि नराम्रोसँग प्रभावित भई जलबिद्युत परियोजनाहरुको काम करिब साढे दुई बर्ष ठप्प हुन पुगेको जनाएको छ ।
इप्पानका अनुसार कोभिडका कारण लामो समयसम्म जलविद्युत परियोजनाहरुमा भौतिक निर्माणका कार्य रोकिनुका साथै स्वदेश फर्केका विदेशी दक्ष प्राविधिकहरु र कामदारहरु अझसम्म नआएको अवस्था छ ।
‘यसकारण ऊर्जा परियोजनाहरुले नेपाल बिद्युत प्राधिकरणसँग पीपीए गर्दा निर्धारण गरेको ब्यापारिक उत्पादन सुरु गर्ने मितिमा परियोजनाहरु सम्पन्न हुन सक्ने अबस्था छैन,’ इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ, ‘यो अवस्थालाई मध्यनजर गरेर ईप्पानले आरसीओडीको म्याद २ वर्ष थप गरी दिन ऊर्जामन्त्रीलाई अनुरोध गरेको थियो ।’
इप्पानले आफ्नो माग र परिस्थितिलाई हेरेर मन्त्रालयले एक वर्ष म्याद थप गरिदिएको जनाएको छ । बाँकी एक वर्ष पनि म्याद थप गरेर मन्त्रालयले यो क्षेत्रको ठूलो समस्या हल गर्नुको साथै आफ्नो मागको पूर्ण सम्बोधन गर्नेमा इप्पान विश्वस्त रहेको जनाएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया