सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा ३७ लाख खर्च

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आय-व्यय सार्वजनिक गरेको छ । गएको वैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनका लागि ३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको छ ।

विश्वविद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रममा लागेको खर्च विवरण सार्वजनिक गरेको हो । विश्वविद्यालयका डीन एवम् दीक्षान्त समारोह अन्तरगत प्रचारप्रसार समितिका संयोजक डा. लिलाधर तिवारीले अतिथि सत्कार र यातायात खर्चमा सबैभन्दा बढी १३ लाख ७४ हजार खर्च भएको जनाए ।

कार्यक्रममा सात लाख ३६ हजारको खाजा नास्ता, कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनमा पाँच लाख ७० हजार, प्रमाणपत्र व्यवस्थापनमा दुई लाख ६९ हजार, प्रमाणपत्र तथा शिलालेख व्यवस्थापनमा एक लाख ३७ हजार रुपियाँ खर्च भएको जानकारी दिए ।

त्यसैगरी प्रचारप्रसारमा एक लाख ३७ हजार, सम्बोधन र प्रतिवेदन मस्यौदाका लागि एक लाख ६१ हजार, स्वयंसेवक परिचालनमा ६७ हजार, सिनेट बैठकको भत्तामा ९९ हजार,अतिथि स्वागत सत्कारमा एक लाख र गाउनसेट व्यवस्थापनको लागि ४८ हजार रुपियाँ खर्च भएको तिवारीले जनाए ।

प्रचारप्रसार समितिका सदस्य युवराज शर्माले प्रमुख अतिथिहरु विदेशबाट आउनुपर्ने भएकाले पनि यातायात तर्फ खर्च बढी आएको बताए । उनले जतिसक्यो खर्चलाई व्यवस्थापन गरेको जानकारी दिए । यस वर्ष २९ जनालाई विभिन्नव्यक्तित्वहरुलाई पदक दिइएको थियो भने पाँच सय १९ विद्यार्थी दिक्षित भएका थिए । दिक्षान्त समारोह शिक्षा मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षता तथा नोवेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यस अघि विश्वविद्यालयले २०७४ असार १९ मा दिक्षान्त समारोह आयोजना गरेको थियो ।