पेट्राेलियम खपतले मुलुकको अवस्था भयावह हुँदै : कार्यकारी निर्देशक थानी
एलपी ग्यासको बढ्दाे खपतले डरलाग्दो अवस्था

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
बुधबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै कार्यकारी निर्देशक थानीले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकाले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन् । उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जानकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नु परेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताए ।
कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महसुल तिरेर कसैले इन्डक्सन चुल्हाे नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने उल्लेख गरे । उनले नेपाल विद्युत प्राधिकरणले दिएको महसुलभन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिकटन एलपी ग्यास आयात भइसकेको बताए ।
एलपी ग्यासको खपत दिन प्रतिदिन बढिरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको दाबी गरे । उनले नेपाल आयल निगम प्रति सिलिन्डर ७५१ रूपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जिकिर गरे ।
कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । समितिको बैठकमा सांसदहरूले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

प्रतिक्रिया