डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

झापा - भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफिन बनाउन कुँवरलाई अर्डर दिन भने । संयोग पनि कस्तो ! जब कफिन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफिन तयार भएको केही घण्टामै उनको निधन भयो ।
‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्यो भन्नुभयो । अडर पनि गरियो । उहाँले नै एडभान्स २० हजार रुपैयाँ दिनुभयो । सिसासहितको कफिनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उनी भन्छन्, ‘उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो (शनिबार) तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा. राईको कोठामा बास राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’
भुटानी शरणार्थी नेता डा. राईको ७२ वर्षको उमेरमा शनिबार राति विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो । डा. राई भुटानमा भुटानी राजपरिवारका डाक्टर थिए । उनी भुटानकै पहिलो सर्जन डाक्टर हुन् । उनलाई अन्य नेपालीभाषी भुटानीजस्तो नेपाल आउनैपर्ने बाध्यता थिएन । तर, नेपालीभाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आएका हुन् । १९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । नेपालीभाषी दाजुभाइसँगै उनी नेपाल आएका थिए । उनी बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आएका थिए ।
भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उनको आन्दोलन कमजोर थियो । भुटान फर्कने उनको सपना अधरै रह्यो । भुटानप्रति उनको माया असाध्यै थियो । उनको क्लिनिकको टेबलमा भुटानको झण्डा सधैँ हुन्थ्यो । तर, देशले उनलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आएका भुटानी शरणार्थी नेता डा. राई देशविहीन भएर अस्ताए । भुटानी शरणार्थीहरू अभिभावक गुमाउन परेको बताउँछन् । डा. राईका बुबा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उनका सन्तान छैनन् । उनले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गरे ।

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया