सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

भिरागो अर्थात् ' ठूलो कद र साहसी महिला'

अनलाइन व्यापारबाटै मासिक ४ लाख कमाउँछ 'भिरागो'

काठमाडौँ- 'अबदेखि देखिने र नदेखिने दिनहरू युशाको हो ।' दोस्रो इभेन्ट गर्ने तयारी गर्दैगर्दा प्रपोजलमा उनले लेखिन् । पहिलो पटक शो गर्दा उनी उत्साहित थिइन् तर, बेचैनी र मुटुको ढुकढुकी पनि उत्तिकै बढ्दै थियो । मानिसहरूको सहभागी कस्तो हुन्छ भनेर आफैँलाई प्रश्‍न गरिरहन्थिन् । काम गर्ने र केही नयाँ गर्न खोज्नेलाई कहाँ सजिलो छ र ?

दुई वर्षअघि उनले भिरागोको 'बिकिनी शो' गरिन् । पहिलोपटक गरेको 'शो' मै उनी हौसिन् ।  उनले सोचेभन्दा बढी मानिसहरूको सहभागी भयो। पहिलो शो  उनका लागि अवसरका ढोका बन्यो। अवसरले उनलाई पाइला-पाइलामा पछ्यायो र ढक्ढक्यायो पनि  ।

नेपाली समाज फेसनप्रति खुलिसकेको छैन । हाफ पेन्ट, च्यातिएका जस्ता लुगा लगाएर बाहिर निस्कँदा के लगाएको भनेर जिज्ञासासहितको प्रश्‍न गर्ने समाजमा छिन् युशा मगर ।  

अझ कस्तो लुगा लगाएको भनेर कुरा काट्ने नेपाली समाजमा उनलाई बिकिनी शो गर्न झन बढी कठिन बनेको थियो । तर, उत्साहजनक सहभागी थियो । समुन्द्री किनारामा र विश्‍वसुन्दरी प्रतियोगितामा बिकिनीमा देखिन्थे नेपाली युवती । तर, उनले मोडलिङ क्षेत्रमा व्यवसायिक रुपमै बिकिनीमा मोडलहरूलाई उतार्न सफल भइन् ।

नेपाल जस्तो मुलुकमा बिकिनी लगाएर र्‍याम्पमा उत्रनु पक्कै पनि सहज थिएन । तर, समय र आफ्नै मेहनतले पहिलो शो गर्न उनी सफल बनिन् । धेरै मानिसहरूमा 'फेसन सेन्स' बनिनसक्दा पनि  बिकिनी प्रति नराम्रो धारणा रहेको उनको बुझाइ छ ।

युवा उद्यमीहरूलाई प्रोत्साहन 

गत वर्ष मुलुक कोभिड-१९ को महामारीले थल्लिरहेको थियो । अधिकांश मानिस घरमा थुनिएका थिए । दैनिक जसो संक्रमितको ग्राफ उकालो लाग्दै थियो । सडकमा भोका पेटहरू ओहोरदोहोर गरिरहन्थे तिनका खाली पेटमा अन्‍न भर्न पनि उनी भ्याइन् । तर, युशा कोभिडको प्रवाह नगरी आफ्नो सोचाइ र कर्मलाई निरन्तरता दिइरहिन।

पहिलो इभेन्टमा सफलता प्राप्त गरेकी युशा अहिले भने दोस्रो संस्करण गर्ने तयारीमा छिन् । यसपटक भने पहिलो पटकभन्दा फरक इभेन्ट गर्न लागेको उनले जानकारी दिइन् ।

'अघिल्लो पटक र्‍याम्प र फेसन शो मात्र भएको थियो,' पहिलो पटकको इभेन्ट सम्झँदै भन्छिन्,' यस पटक युवा उद्यमीहरूलाई 'शो' मा स्टल राख्‍न दिइने छ । आफूले स्थानीय रुपमा उत्पादन गरेका सामग्रीहरू बिक्री गर्न सक्ने छन् । फेसन र डान्स कम्पिटीसनसमेत हुनेछ ।'

इभेन्ट गर्नुको उदेश्‍य युवा उद्यमीहरूलाई आफ्नो कामप्रति प्रोत्साहित गर्नु र लोकल उत्पादनको बजारीकरण गर्नु रहेको उनी बताउँछिन् । आगामी असार १८ गते  बाँसबारीस्थित द ग्राउन्डस हुने भएको छ । 

युशाले अनलाइनमार्फत व्यापार बढाइ रहेकी छन् ।  उनले आफ्नै नामबाट इन्स्टा ह्यान्डलको चलाइरहेकी छन् । इन्स्टाग्राममा  'युशा भिरागो' ह्यान्डलमा अधिकांश ग्राहकले सम्पर्क गर्ने गरेको उनले बताइन् ।

भिरागो नाम राख्‍नुको कारण,' ठूलो कद र साहसी महिला हो । महिला आफैँमा साहसी हो भनेर बुझाउनु पनि छ ।'

मासिक ४ लाख आम्दानी, दैनिक ३ देखि १५ वटासम्म माग

'व्यापार र फेसनमा दुवैमा रुचि भएकाले इभेन्ट गर्ने चाह पैदा भएको थियो,' उनले थपिन्,' युवा उद्यमी भएकीले आफ्ना साथीहरू र नियमित ग्राहकसँग सम्पर्क गरेर इभेन्ट गर्न सफल बनेकी थिए ।' आफूलाई युवा उद्यमीको रुपमा परिचित गराउन चाहन्छिन् । उनी व्यवसायिक रुपमा मोड्लिङ पनि गर्छिन् । विभिन्न म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी उनले व्यापार गर्ने आइडियालाई उर्जामा बदलिइन् ।

'नेपालमा मोडलिङ गर्नेलाई फरक दृष्‍टिकोणले हेर्ने भएकाले पनि त्यस्तो नजर बदल्न बिकिनीको काम थालेको हुँ,' उनी दृढ सुनिन्छिन्,' महिला आफू साहसी देखिन बिकिनीमा हिड्छ्न् ।'

नेपालमा पहिलो पटक आफूलाई खुला बिकिनी शो को आयोजना गर्ने पहिलो अर्गनाइजर रहेको युशा दाबी गर्छिन् । पश्चिमा मुलुकमा जस्तो अहिले पनि बिकिनी लगाउने संस्कृति नेपालमा भित्रि नसकेको उनको बुझाइ छ । समाज, मानिसको सोचाइ र संस्कृतिले पनि लगाउने लुगा र खाना खाने शैलीमा भर पर्ने उनले धारणा राखिन् ।

उनका ग्राहकहरू २० देखि ३० वर्ष उमेर समूहका छन् । काठमाडौँ उपत्यकामा मात्र नभइ बाहिर पनि रहेको उनले प्रस्ट पारिन् । सुनाइन् । 'सबैले सम्पर्क गर्ने भनेको इन्स्टाबाट हो,' २४ वर्षीय युशाले सुनाइन्,' नयाँ पिस आएका बेला दैनिक ३,५ देखि १५ वटा सम्मको अर्डर आउने गरेको छ ।'

भिरागोमा २ देखि ४ हजार मूल्यका बिकिनी पाइने गरेको उनले जानकारी दिइन् । एउटा महिलाले लगाउने सामान महिलाले बिक्री गर्ने भएकाले सस्तो उपलब्ध गराइरहेको उनी बताउँछिन् । उनले मासिक ४ लाख आम्दानी गर्छिन् । भिरागोमा युके, बैंकक, चीन र नेपालमै उत्पादन भएको सामान पाइन्छ ।

दुःख बुझ्‍न समुन्द्रपार 

काठमाडौँमा जन्मेकी हुर्केकी युशाले १२ कक्षासम्म अध्ययन गरेकी छन् । उनले स्कुलमा रहँदादेखि भविष्यमा यो काम गर्छु भनेर योजना बनाइनन् । उमेर बढेसँगै आफूले रुचि भएको काम मात्र गरेको उनले बताइन् ।

घरकी जेठी छोरी युशाले बाल्यकालीनमा दुःख के हो थाहा पाइनन् । दुःख र सुख के हो बुझ्ने भएपछि दुःखको महसुस गर्न थालिन् । आमा पनि ब्युटीसियन हुनु भएकाले सौन्दर्यतर्फ आकर्षण बढेको उनी मान्छिन् । घरमा बहिनी र बुबा रहेको उनले बताइन् । बुबाले आफ्नै व्यापार गर्छन् ।

'परिवारको सहाराभन्दा आफ्नै खुट्टाले उभिन सकिरहेको छु,' अभिभावकको हौसला सम्झँदै भन्छिन्,' मैले गरेको कामप्रति अहिलेसम्म अवरोध भएको छैन ।' तर, विगतमा उनको पारिवारिक माहोल भने कडा थियो । कडा अनुशासन हुर्केकी उनी  घरको दिवारबाहिर रहेको वातावरण पनि सहजै देख्‍न पाएकी थिइनन् । 

उनी केही समय नेपाल बाहिर दुबईमा पनि बसिन् । समुन्द्रलाई फिल्मी दुनियँमा देखेकी उनले नजिकबाट स्पर्श गरिन् । दुःखको आभास गर्न नपाएकी उनले घर छाडेपछि माया, दुःख र अभिभावको माया बुझिन् । विगतको स्मृति सम्झँदै भन्छिन्,' घरको वातावरण अलिक कडा थियो । अनुभव बटुल्न भागेर दुबई गए । पार्ट टाइम काम गरेर बसे ।'

व्यवस्थापन पढेकी उनले दुबई इन्टर्न गर्न पुगिन् । म्यानपावर एजेन्सीबाट गएकी उनले स्मृतिको पर्दा खोल्दै भावुक हुँदै सुनाइन्,' ६ महिनामा पढेर कम्पनी परिवर्तन गर्न खोज्दा पाइनन् । कानूनी उपचार खोजेँ । दुःख गरेर मुद्दा जितेँ । पहिलेभन्दा राम्रो काम पाएँ ।'

उज्यालो-अँध्यारो एउटा मीठो भ्रम हो

दुःख बुझ्न पुगेकी युशाले दुबईमा ६० हजारदेखि २ लाखसम्म तलब पाउँथिन् । कमाइ राम्रो हुन थालेपछि प्रत्येक साता नेपाल आउँथिन् उनी । दुबईमा बसेको परिवारले रुचाएका थिएनन् । कमाइ राम्रो हुन थालेपछि हरेक साता नेपाल आउने गर्थिन् । चौथो पटक आएपछि पुनः फर्केर जान सदाको लागि यतै बस्नु परिरहेको उनले बताइन् ।

'मैले अँध्यारो समय काटें र उज्यालोको पर्खाइमा थिए, अहिले सबैका लागि उज्यालो छर्ने काम गरिरहेको छु, ' उनले मन्द स्वरमा भनिन्,' त्यही समय उज्यालो हुन्छ त कसैका लागि अँध्यारो । उज्यालो–अँध्यारो पनि एउटा मीठो भ्रम हो । यो सबै संघर्ष हो, यसलाई त्यहीँ भनेर बुझ्दा पनि हुन्छ ।'

माथि चढेपछि झर्नैपर्छ, त्यसैले ओरालो झरेर आफ्नो जीवनका लागि पखेटा लगाउने प्रयासमा छिन युशा । उकालो जानुभन्दा पनि ओरालो झर्नु सफलता हो भनेर उनले बुझेकी छन् । नेपालमा फेसनप्रति मानिसहरूको चासो बढ्दै गएको उनलाई लाग्दो रहेछ । 'ग्राहकको मागभएर र विदेशी ब्रान्ड कम्पनीहरूको शो रुम खुलेका छन्,' बजारमा घुम्दाको अनुभव सुनाउँछिन् ।

मानवीय कर्तव्यबाट भाग्दिन

अहिले पनि छोटो लुगा लगाउने युवतीप्रति नेपाली समाजमा नराम्रो धारणा बनाउनेहरूको संख्या अधिक मात्रामा रहेको युशा बताउँछिन् । पुरुष हाबी भएको नेपाली समाजमा महिला बढी दबिएर बस्नुपरेको उनी महसुस गर्छिन् । महिलाले स्वतन्त्राको अनुभूती गर्न पाएका दिन मात्र अधिकारले सुनिश्चिता पाउने उनको विश्वास छ ।

'नारी र पुरुष एकै हो भनिए पनि व्यवहारमा लागू भएकै छैन,' उनले इकागजसँग भनिन्,' नारीले पनि आफ्नो घर व्यवहारदेखि छोराछोरी सम्हालेर बसेका छन् । महिलाले पनि पुरुषझैँ काम गर्न सकिन्छ भनी आँट गर्नुपर्छ । महिलाले अवसर पाएमा काम गर्न सक्छन् ।' 

युशा जति दृढ सुनिन्छिन् त्यतिनै सामाजिक र मानवीय कर्तव्यसँग पनि नजिक छिन् । आम्दानीको निश्चित कमाइ सामाजिक सेवामा खर्च गर्छिन् । भन्छिन् 'दिएर कहिले पनि सानो भइन्न र दिनेहरू गरिब भएका छैनन् ! अरुका दु:ख नबुझ्ने मानिस बन्न बस्न सक्दैनन्। '

हरेक साता उनी विभिन्न स्थानमा पुगी रक्तदान कार्यक्रम सञ्चालन गर्छिन् । सामाजिक संस्था लायन्स क्लबमा पनि जोडिएकी छन् । 'ब्लडहुड' को ब्रान्ड एम्बेसेडर रहेकी उनी उपत्यकासहित बाहिरको तीन वटा अनाथ गृहमा पनि आर्थिक सहयोग गर्ने गरेको बताउँछिन् ।