सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

दुबई पठाइदिने भन्दै सात लाख ठगी गर्ने पक्राउ

फाइल तस्बिर

काठमाडौँ -  नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रुपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौँको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्‍चालक समेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाख रुपैयाँसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख रुपैयाँ ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।