सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

रोजगारी सिर्जनाका लागि चेम्बरले स्थानीय तहसँग सहकार्य गर्ने

काठमाडौंँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशिलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताएका हुन् ।

युवा उद्यमशिलता  तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक श्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रवर्द्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्लको भनाइ छ । मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनीहरुको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ ।

सरकाले ५० वर्ष सम्म जग्गा भाडामा उपलव्ध गराउने बजेटमा घोषणा गरेको छ । युवाहरुको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तराष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’ युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक श्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

मल्लले महोत्तरीमा उत्पादित उखु, फलफुल लगायत अन्य उपभोग्य वस्तुको बजारिकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए । मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत बताए । मुलुकमा चरम व्यापार घाटा भईरहेको सन्र्दभमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताए । मुलुकको भुक्तानी सन्तुलन कायम राख्नका लागि आयत र निर्यातलाई व्यवस्थित गर्नुपर्ने मल्लले बताए । 
यस्तै अध्यक्ष मल्लले कर राजश्व नीति पनि एकलद्धारको हुनुपर्ने बताए । मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको भन्दै अध्यक्ष मल्लले सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्ने उनको भनाइ छ ।