शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

समिट 'वुमन अफ द इयर अवार्ड' वितरण

काठमाडौँः ललितपुरस्थित होटल समिटले इभेन्ट म्यानेजमेन्ट कम्पनी ओपन स्पेस नेटवर्कसँगको सहकार्यमा ‘समिट वुमन अफ दि इयर २०२१’ अवार्ड वितरण गरेको छ । व्यवसायमा सफल र समाजमा सकारात्मक प्रभाव पारेका ३० वर्षभन्दा मुनिका महिलाको सम्मानका लागि ‘सीजी हस्पिटालिटी’अन्तर्गतको होटल समिटले महिलाहरूलाई बुधबार अवार्ड दिएको समिट इभेन्ट म्यानेजमेन्ट कमिटीले जनाएको छ । 

उद्यमशीलतामा प्रवेश गर्दै गरेका महिलाहरूलाई विभिन्न सामाजिक, राजनीतिक, आर्थिकलगायत व्यवहारिक बाधा–अड्चनबीच कसरी सफलता हासिल गर्न सकिन्छ भनेर उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल समिटले जनाएको छ । 

अवार्डका लागि १७० आवेदन परेका थिए, जसमा २६ सर्टलिस्ट भएका थिए । तीमध्ये जया राजभण्डारी (ट्वीङ्कल्स), यजश्वी राई (लेकलेख द ग्रिन वेभ), अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठ (टिट्टोफ्रिट्टो फुड्स), अदिती गोयल (लर्न इन्फिनिटी) र विनीता पोखरेल (प्योर जोय) अन्तिम ५ मा छनोट भएका थिए । ‘टिट्टोफ्रिट्टो फुड्स’का जुम्ल्याहा दिदीबहिनी अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठलाई ‘समिट वुमन अफ दि इयर २०२१’ घोषणा गरिएको थियो । ‘टिट्टोफ्रिट्टो फुड्स’ स्थानीय कृषिउपज प्रशोधन गर्ने स्टार्टअप हो । 

अवार्ड निर्णायकमा नबिल बैंकका सीईओ अनिलकेशरी शाह, होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राना, आईडीईका नेपाल निर्देशक कोरे ओ’ हारा र गोल्डस्टारकी मार्केटिङ÷डिजाइन निर्देशक विदूषी राणा थिए । निर्णायकमण्डलले चैत १० गते छनोट गरे पनि १८ गते (बुधबार) घोषणा गरिएको थियो । 
अवार्ड घोषणापछि सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक÷सीईओ राहुल चौधरीले प्रतिभावान महिलाहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । “युवावस्थामै नवीन व्यावसायिक सोच लिएर सफलताको सिँढी चढ्दै गरेका महिलालाई सम्मान गर्न पाउँदा हामीलाई गर्व लागेको छ,” उनले भने, “यसले भविष्यमा अझ राम्रो गर्न उनीहरूमा उत्प्रेरणा जगाउनेछ ।” 

इभेन्ट म्यानेजमेन्ट कम्पनी ओपन स्पेस नेटवर्ककी सीईओ फाइजा परवीनले आफूहरू सधैं महिलाको आर्थिक आत्मनिर्भरताका लागि प्रयासरत रहेको बताइन् । “महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएमात्र समतामूलक समाज बन्न सक्छ,” उनले भनिन्, “त्यस्तै आत्मनिर्भर महिलालाई सम्मान गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ ।” 

कार्यक्रमलाई नबिल बैंक, एलजी इलेक्ट्रोनिक्स, होम मेकर्स, टर्किस एयरलाइन्स र भिदा फुट वेयरले सहयोग गरेका थिए ।