सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बालयौन दुराचारको आरोपमा एक अमेरिकी पक्राउ

काठमाडौँ : बालयौन दुराचारको अभियोगमा क्यालिफोर्निया अमेरिका ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१८ सेदीस्थित बिष्णु होमस्टेबाट मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ जना बालबालिकालाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजालमार्फत् सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको छ ।

आरोपी व्यक्तिको साथबाट ४ हजार ६ सय अमेरिकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राइभ, र १ थान अमेरिककी राहदानी प्रहरीले बरामद गरेको छ ।  उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको हो ।