नीति तथा कार्यक्रम : स्वास्थ्यका कस्ता- कस्ता विषय समेटिए ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा समावेश भएका योजनाका आधारमा सरकारले बजेट छुट्याउने गर्छ ।
तर, सरकारले यसपटक स्वास्थ्य मन्त्रालयका लागि बजेट घटाएको छ । आर्थिक वर्षका २०७८/०७९ लागि ७४ अर्ब रुपैयाँ बजेट विनियोजन हुने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयलाई ७४ अर्ब रुपैयाँको सिलिङ बजेटको प्रस्ताव गरिसकेको छ ।
गत वर्ष सरकारले स्वास्थ्यको लागि सवा खर्ब रुपैयाँ बजेट छुट्टयाएको थियो । कोभिड-१९ महामारीको समयमा १ खर्ब १९ अर्ब रुपैयाँ बजेट तय भएको थियो । जसअन्तर्गत महामारीमा कोभिड खोप तथा नियन्त्रणमा रकम खर्च भएको थियो ।
नीति तथा कार्यक्रममा रहेका स्वास्थ्यसँग सम्बन्धित १६ विषय:
- किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइनेछ। स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइनेछ।
- प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सामुदायिक माध्यमिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने ।
- प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ।
- डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिनेछ । औषधोपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइनेछ।
- स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइनेछ।
- सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिनेछ । सबै अस्पतालमा सामाजिक सेवा एकाई स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
- पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ।
- ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ।
- जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइनेछ।
- सबै स्थानीय तहका स्वास्थ्य संस्थामा चालीस वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिनेछ ।
- प्रदेशको सहभागिता र समस्यमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिनेछ।
- केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टिकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाइनेछ।
- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ।
- विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिनेछ। देशभित्रका प्रयोगशालाहरूमा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइनेछ।
- नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सरलगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुन:स्थापना र परामर्श केन्द्र स्थापना गरिनेछ । नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिनेछ।
एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याई प्रतिजैविक औषधिको प्रतिरोधलाई न्यून गरिनेछ।
-आधारभूत र जीवनरक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने । उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने छ। यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महसुलमा सहुलियत उपलब्ध गराइने सरकारको घोषणा छ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया