शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

हात्तीको आक्रमणबाट एकको मृत्यु

धनुषा : हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका-७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्‍ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्‍न खानुको साथै १० घरमा क्षति पुर्‍याएको छ । 

गाउँलेहरुले जताततै आगो बालेर हो-हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ । यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पुर्‍याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो । रासस