पर्यटन

किन भोटका लागि फालिँदैछ विमानस्थल तुरुप ? बन्द छन् साढे १० अर्बमा बनेका २१ विमानस्थल

अतिन आचार्य | मंसिर २५, २०८०

काठमाडौँ- गत बिहीबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेकाे टोलीले धरान-१७ को डाँडाघोपामा धरान विमानस्थल निर्माण गर्ने भनिएको स्थानकाे भौगोलिक अवस्थाको अध्ययन गर्यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको उक्त टोली गठन भएको थियो ।

सरकारले नयाँ विमानस्थल बनाउन समिति गठन गर्दैछ । निर्माण भएका धेरै विमानस्थल अझै पनि सञ्चालनमा आएका छैनन् । कतिपय विमानस्थल बन्द हुने अवस्थामा पुगिसकेका छन् । तराई र सुविधासम्पन्न विमानस्थलमा आन्तरिक उडान गर्न भ्याइनभ्याइ छ । पहाडी जिल्लाका अधिकांश ५ सय मिटर 'रनवे' का विमानस्थल अझै बन्द छन् । 

पहाडी जिल्लाका २१ विमानस्थलको पूर्वाधार बनिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल विविध कारणले निर्माण सम्पन्न भइसकेका विमानस्थल सञ्चालनमा ल्याउन नसकेको हो ।

आवश्यक संख्यामा विमान नहुनु, भौगोलिक जटिलता, मौसमी प्रतिकूल र पर्याप्त पूर्वाधार तथा विस्तार प्रभावकारी नहुनुले नियमित रूपमा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । सडक यातायातको सुविधा पुग्दा र यात्रु नहुँदा पनि विमानस्थल बन्द हुन थालेका प्राधिकरणले जनाएकाे छ ।

निर्माण भएर बाग्लुङ, बैतडी, चौरजहारी रुकुम, दार्चुला, ढोरपाटन, डोटी, गोरखा पालुङटार, जिरी, काङगेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामीडाँडा, महेन्द्ननगर, मनाङ, मसिनेचौर डोल्पा, मेघौली, रोल्पा, स्याङबोचे, रुम्जाटार, टीकापुर र कालीकोटको विमानस्थल सञ्चालनमा आएका छैनन् ।

त्यसैगरी नेपालमा हाल कुल ५४ वटा विमानस्थल छन् । आन्तरिक उडानतर्फ ५१ वटा विमानस्थल छन् । नियमित रूपमा ३० वटा विमानस्थल मात्र सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा विमानस्थल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुन् । अर्घाखाँची र कमल बजारमा दुई वटा विमानस्थल भने निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माण भएका विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण भौगोलिक जटिलता र पर्याप्त विमान नहुनु रहेको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले बताए । ‘मुख्यतया भौगोलिक जटिलता, मौसमी अवस्था र पर्याप्त विमान नहुँदा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्,’ उनले भने ।

सरकारी वायुसेवा नियामक निकाय नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न पर्याप्त विमान नहुँदा धेरै विमानस्थल सञ्चालनमा आउन नसकेको उनको दाबी छ । यसअघि नेपाल वायुसेवा निगमसँग धेरै विमानहरू थियो अहिले भने उक्त संख्यामा विमान नरहेको उनको भनाइ छ ।

निजी वायुयान कम्पनीका विमानहरू दुर्घटना भएर विमान संख्या घट्नु पनि अर्को कारण रहेको भूलको दाबी छ । निजी वायुसेवा कम्पनीसँग पर्याप्त विमान छैन र भएका विमानले चालू भएका मुख्य-मुख्य आन्तरिक विमानस्थलबाटै उडान भरिरहेको उनले बताए ।

‘निजी वायुसेवालाई उडान भर भनेर दबाब दिन्नौँ’
‘जिल्ला-जिल्लामा सडक यातायातको पहुँच पुगेपछि विमानस्थलको प्रयोग गर्ने यात्रुको कमी भएका छन्,’ भूलले इकागजसँग भने, 'सडकको पहुँच नपुग्दासम्म जुन रूपमा यात्रुको उपस्थिति थियो । सडकको पहुँच पुगेपछि यात्रुको संख्या घटेको छ ।'

निजी वायुसेवा कम्पनीलाई यात्रु नभएको ठाउँमा उडान भर भनेर दबाब नदिने उनको दाबी छ । यात्रु नभएका ठाउँमा निजी वायुसेवा कम्पनीलाई क्षतिपूर्ति दिनलाई ऐन नबनेको उनले उल्लेख गरे ।

उनका अनुसार अहिले बन्द भएका विमानस्थलमा साना-साना विमान चल्न सक्ने र ठूला विमान चलाउन 'रनवे' विस्तार गर्नुपर्ने हुन्छ । 'रनवे' निर्माणका लागि आवश्यक संरचना तथा जग्गा प्राप्तिका लागि समस्या छ । विभिन्न निकाय वा स्थानीय नागरिकबाट अवरोधको अवस्था छ ।

साना-साना विमानस्थलको 'रनवे' विस्तार गर्न नसक्दा सोचेअनुसार उडान गर्न नसकेको भूलको भनाइ छ । ‘मौसमी उडान हुने विमानस्थल, नेपाल वायुसेवा निगमसँग पर्याप्त विमान नहुनु र पर्याप्त विमान नरहेकाले विमानस्थल बन्द भए,’ उनले भने ।

एउटा विमानस्थल बनाउन कति लाग्छ खर्च ? 
भूलका अनुसार ट्वीनअटर विमान ल्याण्ड गर्नुपर्दा पाँच सय मिटरको 'रनवे' चाहिन्छ । टावर, टर्मिनल र जग्गाबाहेक न्यूनतम् ५० करोड खर्च लाग्छ । एटीआर ४२ 'रनवे' बनाउनुपर्दा १२ सय मिटरको 'रनवे' जरुरी पर्छ भने लागत करिब १ अर्ब खर्च हुन्छ । एटीआर ७२ 'रनवे' बनाउँदा १५ सय मिटरको 'रनवे' चाहिन्छ र त्यसका लागि १ अर्ब २० करोड रुपैयाँ लाग्छ । 

देशभर ५ सय मिटर 'रनवे' भएको विमानस्थल ३९ वटा छन् । जसमध्ये २१ वटा विमानस्थल बन्द छन् । ५ सय 'रनवे' को विमानस्थल बनाउँदा साढे १० अर्ब रुपैयाँ खर्च भएको छ । १५ सय मिटर 'रनवे' को १४ वटा विमानस्थल छन् । 

कुन-कुन विमानस्थल चालू छन् ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाजुरा, भरतपुर, बझाङ, भोजपुर, विराटनगर, चन्द्रगढी, दाङ, धनगढी, डोल्फा जुफल, फाल्गुनन्द सुकीलुम्बा इलाम, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, नेपालगञ्ज,  पोखरा, राजविराज, रामेछाप, रारा, सिमरा, सुर्खेत, सल्ले रूकुम, सिमिकोट, साँफेबगर, टुम्लिङटार, तेन्जिङ हिलारी लुक्ला, ताप्लेजुङ, थामखर्क र गुल्मी रेसुङ्गा विमानस्थल सञ्चालनमा छन् ।

'हचुवा' को भरमा विमानस्थल
निजी वायुसेवा बुद्ध एयरका बजार व्यवस्थापक रुपेश जोशीले विमानका लागि आवश्यक यात्रुको लोड नपुग्दा पनि बन्द हुने अवस्थामा पुगेको बताए । लामिडाँडा र खाडीडाँडा विमानस्थल यात्रु नभएर बन्द भएको उनले दाबी गरे । कुनै समयमा लामिडाँडामा सिट पाउन कठिन हुने गरेको उनले स्मरण गराए ।

‘जिल्ला-जिल्लाका विमानस्थलमा यात्रुको संख्या कम भएकाले विमानस्थल बन्द भएको हो,’ उनले भने, 'नेपालमा बनेका धेरै विमानस्थलहरू रिसर्च नगरि बनाइएको छ । साना-साना जहाज जान्छन् तिनीहरूमा यात्रा गरेको शुल्क पनि महँगो छ । सबै यात्रुले तिर्न सक्दैनन् ।'

सरकारले निजी वायुसेवा कम्पनीलाई जिल्ला-जिल्लामा बनाएको विमानस्थलबाट उडान गर् भने पनि उडान भर्न नसक्ने जोशीको भनाइ छ । वायुसेना कम्पनीलाई सरकारले थप सुविधा दिन नसक्ने उनको दाबी छ ।

यात्रु भएका ठाउँको विमानस्थल निरन्तर चालू रहेको जोशीको भनाइ छ । जिल्ला-जिल्लामा विमान चढ्नेको संख्या घट्दै गएको उनको अनुमान छ । ‘विमानमा यात्रा गर्ने यात्रुको कमी हुँदा पनि विमानस्थल बन्द भइरहेको छ,’ उनले थपे ।

जोशीले सडक यातायातको पहुँच विमानस्थल भएका जिल्ला-जिल्लामा विस्तार हुँदै गइरहेकाले यात्रुको संख्या कम हुँदै गएको बताए । यातायात पहुँच नभएका ठाउँमा विमान गएर विमानस्थल चालू अवस्थामा रहेको उनले बताए । काठमाडौँ आउनलाई यात्रुहरू महँगो भाडाभन्दा तिर्नुभन्दा सडक यातायातमा सस्तो भाडा तिरेर यात्रा गर्न थालेको उनले बताए ।

जनताको चाहना भन्दै मन्त्री दबाब दिन आउँथे : पूर्वमहानिर्देशक क्षेत्री
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री पहाडी जिल्लामा विमानस्थल बन्द हुनुको मुख्य कारण यातायातको सुविधा हुनु नै रहेको दाबी गर्छन् । विमान भाडा महँगो र सडक यातायातको शुल्क सस्तो पर्ने भएकाले विमान यात्रुको संख्या कम हुँदै गएको उनको भनाइ छ ।

‘सुरुमा आवश्यकता भएर नेपालमा विमानस्थल बनाइएको हुन्छ । विकासक्रम बिस्तारै भएसँगै त्यसको महत्त्व घट्दै जाने हुन्छ,’ पूर्व महानिर्देशक क्षेत्री भन्छन्,  'अहिले यातायातको सुविधा तथा मानिसको बसाइँसराई तराईतिर गएपछि पनि पहाडमा विमान चढ्नेको संख्या कम हुँदै गएको हो ।'

राजनीतिक दलका नेता तथा मन्त्रीहरूको दबाबले पनि विमानस्थल बनाउनु परिरहेको अनुभव क्षेत्रीले सुनाए । नेतालाई जिल्लामा विमानस्थल विकासको नमुना हो भनेर देखाउन पनि उनीहरूले दबाब दिने गरेको उनले उल्लेख गरे ।

‘जनताको चाहना भन्दै मन्त्रीहरूले विमानस्थल बनाउन दबाब दिने गर्थे,’ पूर्वमहानिर्देशक क्षेत्रीले अनुभव सुनाए, 'निर्वाचनताका मतदाता फकाउन बोलेका कुराहरू विकासका नाममा आएर दबाब दिने गर्थे ।' अहिले पनि जनभावना भन्दै नेता तथा मन्त्रीले विमानस्थल बनाउने घोषणा गरिरहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

इकागज | मंसिर २५, २०८०

भैरहवा - रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्नामा बसे...

नेपालमा कसले ल्यायो पहिलो विमान ? कसरी राखियो त्रिभुवन विमानस्थलको नाम ?

अतिन आचार्य | मंसिर २१, २०८०

काठमाडौँ- आज अर्थात बिहीबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस हो । हरेक वर्ष डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय ...