जात्रा-पर्व

तीज : शास्त्रीय मान्यता के हाम्रो व्यवहार के ?

अमित घिमिरे | असोज १, २०८०

१. शास्त्रीय मान्यता

हाम्रो धर्मिक शास्त्रअनुसार १२ महिनाको रजस्वलामा नारीहरुले अन्जानमा कति कुरा छोएका हुन्छन् । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन, माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउने गर्छन् । त्यसको पनि थुप्रै विधिहरु रहेका छन् । तथापी मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंग सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषिको पूजा गर्ने परम्परा छ । यसो गरेपछि सुद्ध भएको मानिन्छ । 

२. हाम्रो व्यवहार
    
महिलाहरुको विषेश चाडको रुपमा सम्बोधन पाउँदै आएको तीज खासगरी विवाहिता र रजस्वला भएकी नारीको लागि महत्व राख्ने पर्व हो । विवाहिता नारीले आफ्नो पतिको दीर्घायूको लागि अनि अविवाहिताहरुले हुनेवाला पतिको कामना गर्दै महादेव र ऋषिहरुको पूजा–अर्चना,आरधना गर्ने शास्त्रीय मान्यता हाम्रो हिन्दू धर्मले व्याख्या गरेको छ । नारीको पवित्र समर्पण, उनको महानतालाई यस चाडले अझ अरु परीक्षा लिईरहेको हुन्छ । कठोर छ यसको विधि–विधान, अझ अगाडि बढेर भन्नुपर्दा अमानवीय नै छ । अपितु, हाम्रा आमा, दिदी–बहिनीहरु, काकी–माईजू–फुपुहरु सहर्ष–सगौरव विधीवत् पूर्ण गर्दछन् । शायद् उनीहरुको विशाल हृदयको सहनशिल,महानता हो । यस्तै महानता र समर्पणको आडमा पितृसत्ताले झन् बलियो भएर झाङ्गिने अवसर पाउँदै आएको हो र यही आडमा निरंकुश हुँदै सत्ता र कुटनीति दुबै आफ्नो गोजीमा राख्न सक्ने भएका हुन् पुरुष जात । 

३. तीज नारी र पुरुष

पुरुष जात ! अपवाद छोडेर अक्सर आइमाइको मासुको आकृतिमा लुब्ध पुरुष ! सहकार्यको हवाला दिंदै सहबासको ताक बुन्ने पुरुष, आईमाई बच्चा जन्माउने मेसिन देख्ने पुरुष । नारीलाई बेचेर जीवन धान्ने पुरुष, स्वास्नीको परिश्रममा बाँच्ने पुरुष र पनि जहिल्यै अभिमानी पुरुष र अनि अभिशापित नारी । यस्तै–यस्तै परिवेशमा तीज किन आउँछ आँखा भिजाउन, छिया–छिया छातीलाई चाल्नो बनाउँन ? पानी समेत मुखमा नहालेर दिनभर लोग्नेका लागि, उसको दीर्घायूका खातिर निराहार बस्ने त्यो नारी बेलुका उही लोग्नेद्वारा लाठीमुङ्ग्री–हातपात खप्छे । यता दिनभर स्वास्नी निराहार बसेर दीर्घायूको कामना गर्ने उता लठ्ठक् लोग्ने ल्वाँठहरुसँग दिनभर भट्टीमा धुत भएर यातनामा ओर्लने । साँझको यातनाको आलो घाउ र खाली पेटमा त्यही स्वाँठका विसंगतिपूर्ण पाउहरु पखालेको पानीले पेटको आगो शान्त पार्न नपाउँदै कामुक–पशुवत् यौन उत्तेजनामा,रती–रागमा आशक्त पिपासु आफ्नै लोग्ने भनौंदोबाट भररात बलात्कृत हुन्छे । सबै थोक भोगेर पनि जानेर पनि फेरि उनै अहंकारी,निरंकुश पुरुषको इशारामा जीवन बली चढाउँदै आएकी छ नारी– र यस्तो हुँदाहुँदै हर वर्ष फेरि उस्तै परीक्षा, समर्पण बोकेर किन आउँछ तीज ।

४. तीजमा तमकझमक

तोलाका तोला सुन र रेशमी साडीमा राताम्मे आइमाईका हुल ठाँटिएर आँगनको बाटो भएर गुज्रदा स्वाधिनता र स्वतन्त्रताको लडाइँमा आफ्नो लोग्नेको रगतको आहुती दिएर सेताम्मे भएकी शहीद पत्नी, सामान्य औषधोपचार नपाएर बिरामी भएर अस्पतालमा लोग्ने गुमाएकी  स्वास्नी अनि वैदेशिक रोजगारमा घरखेत बन्धकी राखेर गएको, गर्भमा रहेको बच्चोको मुखै नदेखी बन्धक घरखेत लिएर बाक्सामा मुर्दालाश भएर घर फर्केको लोग्नेको अभागिनी पत्नीहरुको उपहास गर्दै, दुःख उपर दर्दको कालिमा लिएर तीजको रहर किन कहर बर्षाउँछ ? किन आउँछ कोरा सेता लिवासमा लपेटिएकी विधुवाको व्यथा बढाउन तीज । तीज भो ! रुवाउन नआइज । 

५. तीजको दर्दः

मुग्लान पसेका माइती, घरबाट धेरै–धेरै टाढा माइती भएकी चेली, माइतीविनाकी चेली, माइतमा सानीआमा भएकी चेली, दाजूभाइको माया कम, भाउजू–बुहारीको कर्कशता बढी भएका चेली; यिनीहरुको दर्दमा दारुण दंश गराउन किन आउँछ तीज ? साँझ बिहान अर्काको मेलापात र मजदुरीमा छाक टार्न विवशहरु जो एकै धरो लुगामा सिङ्गो बर्ष बिताउन बाध्य उनीहरुको सामु जरी भरिएको फूलबुट्टे रेशमका महँगा पहिरन, नौगेडी, तिलहरी, टिकीमाला–मेवा मिष्ठान्न, चौरासी व्यञ्जनको दरको किस्सा किन दोहारिन्छ ? दाम्रो पेटमा सिस्नो–ढिंडो नसिव हुँदैन, उसका लागि खिसी गर्दै लोभ्याउँदै, महिनौ लगाएर संभ्रान्तहरुको देखासिकीमा, लघुताभाष तुल्याउँदै किन आउँछ तीज ?

६. आर्यहरु र तीज : 

गोरु पोसेर गाई जोत्ने आर्यहरुको यो पितृसत्तामा आफ्नो अधिकारबाट वञ्चितहरुलाई तथाकथित सुगम्य ठाउँका सम्भ्रान्त पट्ठीसँग समतुल्य गरेर वा कागजको अक्षरमा प्रतिशत–प्रतिशतको भाग लगाएता पनि पुरुषको ज्योत्स्नामा नारीलाई तेजहिन तुल्याइएको छ । नाइटो छेडी आँखी भौं खौरिएर चार इन्च टालोमा हरहर्ती परफ्युम महकाउँदै खैरै, रातै हुँदै चोक, चौराह नितम्ब हल्लाउँदै ठहका छाड्नेहरुलाई देखेर नारीको प्रगति देख्ने आँखाले असलमा ग्रामीण जीवनको दर्दनाक कथाव्यथा, सामाजिक कुसंरचना, दमनमा रहेकी चेलीलाई नजर अन्दाज गरिरहेको मात्र छ । 

७.विपन्नतामा तीज :

अझै पनि ठाउँ ठाउँमा मक्किएको चोलीले नाइटो नछोपिँदा, मुख रातो पारेर घुँडासम्मको खद्दर धोती तल सार्दै लाज मानी भाग्न विवश प्याकुली र नाइटोमा मुद्री छेडेर चार वित्ताको रुमालजस्तो धरो बेरेर हरर परफ्यूम महकाउँदै बजारका चोक–चोक चहार्ने पिंकी बीचको पृथकता उस्तै छ । जुनेली तेस्रो बेतको बच्चो बचाउन नसकेकी हुँदा महा अपराधीलाई झै को दण्डलाई भोग्दै छे । विचरी ! १३ वर्षमा विवाह भयो १५ को उमेरदेखि आमा बन्न थालेकी घर, गोठ, बस्तु, खेतीको चटारोमा कपालसम्म कोरेर स्याहार गर्न नपाएकी । उता त्यही उमेरकी त्यस्तै नारी ‘जस्मीन’ खुला सोच, आर्थिक अकूत सम्पत्ति विलासिताको रंगोलिमा व्वाई फ्रेण्डसँगको सामिप्यताले ३ पटक एवर्शन गरिसकी । पोडे टोलकी जगल्टेकी ज्यामा जुगुल्टी बुढी अन्न मुखमा हाल्न नपाई ठाउँको ठाउँ वितिन, उता सोफामा सुतेर ट्वाइलेटमा हग्ने–मुत्ने ‘जुगु’ जमर्नी कुकरर्नीलाई कवाफ र रोष्ट जाबो को खाऊँ ! यस्ता असमानताका खाडल चुलिदों छ । काठमाण्डौं चोक गल्ली चाहार्ने, आँखी भौ खुर्कने, डिस्को पस्ने, नाइटो छेडी मुन्द्रा लगाउने जमातलाई हेरेर वा कुनै राजनीतिक भातृ संगठनका टाठा–बाठा कुराका डोकाहरुलाई आकलन गरेर समग्र नारी उपरको संवोधन यथोचित बन्न सक्छ सक्दैन बहस हुनु पर्छ ।    

८. मैजारोमा तीजः 

हाम्रो तुलना गर्ने सबैभन्दा नराम्रो अभिशापताले गर्दा नारीहरु ओझेलमा परेका हुन् । सहानुभूतिभन्दा मौका दिएनौ । सहानुभुति र आदर्श उस्ता–उस्तै भइदियो .... आदर्शले भोको पेट भरिदैन, त्यसरी नै सहानुभुतिले पनि असमानता समाप्त हुँदैन, सामाजिक विरासतमा जागेको कालिमा र निरंकुशताको अन्त्य हुँदैन । धर्मको नाममा, लिङ्गको नाममा कथित् सनातनको पाखण्डीपनालाई व्यवहारमा प्रयोग गर्न पुरुषहरुको दम्भमा तथाकथित यस्ता पर्वहरुको जञ्जीरले बन्दी बनाइदै छ नारीलाई । अतः यो नेलकडीको पिंजडाको नियति भएको तीज ।
।।इति।।

आज विश्वकर्मा पूजा

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वा...

चाडबाडका बेला शान्तिसुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

इकागज | भदौ ३१, २०८०

काठमाडौँ-कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सु...

पशुपतिमा तीजकाे तयारी पूरा, कहाँ-कहाँ बस्ने लाइन-फोटाे खिचे हुनसक्छ जरिवाना

इकागज | भदौ ३१, २०८०

काठमाडौँ- हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा ...