शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

मेयरका उम्मेदवारकी श्रीमती सुकुम्बासी बस्तीमा भेटिएपछि...

बुटवल– मौन अवधिमा निर्वाचन आयोगले आचांरसहितामा कडाई गरेको भनिरहेका बेला त्यही समयमा उम्मेदवारहरुले आर्थिक प्रलोभनको खेल तीव्र​ बनाएका छन् । त्यसको पछिल्लो उदाहरण बुटवलमा एमालेबाट मेयर उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई मतदाता प्रभावित गर्न सुकुम्बासी बस्तीमा पुगेको अवस्थामा पक्राउ परेकी छन् । 

बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा उनलाइ सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनी मतदातालाई पैसा बाँड्न गएको जानकारी पाएपछि स्थानीयले घर घेरा हालेको दावी गरिएको छ । 

स्थानीयको चर्को विरोध भएपछि उनलाई घरभित्रबाट निकालेको स्थानीय लक्ष्मण मल्लले बताए । प्रहरीले घरमा खानतलासी समेत गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका  अनुसार भट्टराई लुकिछिपी बसेको भेटिएको र उनको साथबाट अहिलेसम्म कुनै रकम वा जिन्सी भेटिएको छैन । थप सोधपुछका लागि उनलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।