बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

आयात कडाइका बाबजूद सुध्रिएन विदेशी मुद्रा सञ्चितिको स्थिति

काठमाडौँ– आयातमा कडाईका बाबजूद पनि विदेशी मुद्रा सञ्चितिको स्थितिमा सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)को आयातको प्रवृत्ति हेर्दा नेपालसँग उपलब्ध ९ अर्ब ६१ करोड अमेरिकी डलर सञ्चितिले ६.६ महिनाको वस्तु र सेवाको आयात धान्न पुग्छ ।

नेपाल राष्ट्र बैंकले एलसीमा कडाइँ तथा आयातमा जाने कर्जाको जोखिम भार बढाउँदा पनि विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आउन सकेको छैन । 

साउनदेखि यता विदेशी मुद्राको सञ्चिति १८.२ प्रतिशतले घटेको छ । असार मसान्तमा नेपालसँग ११ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति थियो । 

डलरमा आधारित रेमिट्यान्स आप्रवाह गत वर्षको भन्दा २.२ प्रतिशतले घटेको भएपनि नेपाली रुपैयाँको डलरसँग अवमूल्यनका कारण नेपाली रुपैयाँमा परिवर्तन गर्दा रेमिट्यान्स गत वर्षको तुलनामा ०.६ प्रतिशतले मात्र घटेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। 

आयात उच्च रहेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप निरन्तर छ । यस वर्ष चैतसम्म आयात ३२ प्रतिशतले १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको भएपनि निर्यातको आधार नै सानो छ । यो वर्ष चैत सम्म नेपालले १ खर्ब ६० अर्ब रुपैयाँको निर्यात गरेको छ । 

१३ खर्ब ६ अर्बको व्यापारघाटाका कारण चालु खाता र शोधनान्तर घाटा बढेको छ । शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ र चालु खाता घाटा ५ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै, मूल्य वृद्धि लक्षित सीमाभन्दा माथि पुगेको छ । राष्ट्र बैंकका अनुसार चैत महिनामा मुद्रा स्फिति ७.२८ प्रतिशत छ ।