शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सुरक्षा व्यवस्था कडा : मधेशमा सुरक्षा थ्रेट, देशभर म्यादीसहित डेढ लाख बढीको फौज परिचालन

​जुनसुकै चुनौतीलाई सामना गर्न सक्ने गरी ४ वटै सुरक्षा निकायहरू तयारी अवस्थामा छन्: प्रहरी प्रवक्ता केसी

फाइल तस्‍बिर

काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन सुरक्षाका लागि सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रहरीले जनाएको छ ।

विशेष गरेर मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहित वातावरणमा मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रमध्ये मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । 

उनकाअनुसार सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ भने सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको उनले बताए । 

महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको उनको भनाइ छ । त्यहाँ पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । 

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ । 

केसीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत काम गरिरहेको बताए । उनले देशभरका सबै मतदान केन्द्रहरूमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी फौज परिचालन भइसकेको बताए । 

प्रवक्ता केसीले निर्वाचनको क्रममा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च हिमाली भेगहरू र खुला सीमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए। उनले खुला नाका भएका क्षेत्रहरूमा साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरूमाथि  नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको बताए । 

प्रवक्ता केसीले निर्वाचनलाई भयरहित बनाउन संगठनको तर्फबाट गर्ने कामहरू मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरूको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरूको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरूको सुरक्षाका सम्पूर्ण जिम्मेवारीका लागि पनि नेपाल प्रहरी तयार रहेको बताए । मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर त्यो अनुसारको तयारी गरेको उनको भनाइ छ ।

उनले ४ वटै सुरक्षा निकायहरूले जुनकुनै किसिमको चुनौतीलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेकोले मतदाताले भयरहित वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्नसक्ने बताए ।