एकाविहानै नेपाल समूहप्रति खनिए सूर्य थापा : नेपाल र रावललाई ६ महिना निलम्बन गर्ने !

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहसँग खनिएका छन् । अहिलेसम्म खनाल-नेपाल समूहले गरेका गतिविधिबारे थापाले शनिबार फेसबुकमा लामो स्ट्याटस लेखेका छन् ।
तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर खनाल-नेपालले पुस ५ गतेदेखि फागुन २३ गतेसम्म ओली समूहविरुद्ध गरेका कारवाहीबारे थापाले उल्लेख गरेका छन् । जसमा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनेदेखि थापालाई निलम्बन गरेकोसम्म लेखेका छन् । उनका अनुसार ओलीलाई चार पटक पार्टीबाट निष्काशन गरेको बताएका छन् ।
थापाले १२ बुँदामा लेख्दै कथित कारवाही गरेर पार्टी कब्जा गर्न खोजिएको दाबी गरेका छन् । 'ओली र अरू एक दर्जन नेताहरूलाई पटकपटक निष्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो' थापाले लेखेका छन् 'माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ । समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ ।'
माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन्' थापाले लेखेका छन् 'अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ ! नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?'
थापाले लेखेका जस्ताको त्यस्तै
पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दु:खी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी राखे ?
कोही प्रदर्शनी मार्गमा चिच्याए - सन्की (?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौँ !! कोही कार्की बैक्वेटमा उफ्रिए- केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौँ ! माझण्ड गुटको मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे - ७ जनालाई पार्टीबाट नै हटायौँ !!!
विचराहरू -
तिनले के के गरेका थिए ?
१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार पटक निष्काशन गरे ।
२. महासचिव विष्णुप्रसाद पौडेलडेललाई दुई पटक निष्काशनको घोषणा गरे ।
३. मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।
४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निष्काशन गरे ।
५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निष्काशन गरे ।
६. विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट निस्कासन एकपटक निष्काशन गरे ।
७. शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निष्काशन गरे
८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
१०. गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।
११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे र
१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ।
यहाँनेर सबैलाई ज्ञात होस् र स्मरण पनि -
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निष्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजाेबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ ।)
समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ -
तैपनि तिनमा कुनै पश्चातापबोध छैन,
अझ उल्टै पार्टी एकताको रोइलो तिनकै पो छ ।
खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो ?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि,
निशर्त नेकपा (एमाले),
सूर्य चिन्ह,
र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ? कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन ! अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ !! नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?
अब गंगा गए गंगादास,
जमुना गए जमुनादास नहोऔँ कि ?
कमसेककम-
१.२०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य/दुष्कार्य गलत गरेका थियौँ। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छौँ, पार्टीले हाम्रो सार्वजनिक आलोचना गरेर सुध्रिने मौका प्रदान गरोस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन ?
२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११ औँ र १२ औँ बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चो हुन्थ्योजस्तो गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुनसक्दैनन् ।
चेतना भया !!!!!!

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया