बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

जोशीको शव १२ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको शव श्रदाञ्‍जलीका लागि आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जोशीको शव १२ देखि २ बजेसम्म दुई घण्टा केन्द्रीय कार्यालयमा राख्‍ने तय भएको जानकारी दिए । 

अन्य कार्यक्रम तय गर्नका लागि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ । जोशीको अन्तिम संस्कारबारे थप निर्णय त्यही बैठकले गर्नेछ । 

मस्तिष्कघात भएर गत फागनु १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा भर्ना भएका जोशीले शुक्रबार साँझ ८ बजेर २४ मिनेट जादा निधन भएको थियो । जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्‍याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो । 

नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।