गाउँ फर्कंन थाले मतदाता
म्याग्दी - स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा मतदाता आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् । पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश भारत पुगेका चुनावमा मतदानका लागि गाउँ फर्किएका हुन् । काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत देशका विभिन्न सहरबाट आउने गाडीमा यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ईन्द्रबहादुर नेपालीले चुनावका लागि मतदान गर्न देशका विभिन्न सहरबाट आउने र बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको जानकारी दिए ।
“अघिपछि आधा खाली आउने गाडीमा आज भरिभराउ यात्रु आएका छन् । गाडी रिजर्भ गरेर सिधैँ गाउँमा पुग्नेको सङ्ख्या पनि उत्तिकै छ,” उनले भने “चुनावको मिति नजिकिएसँगै मतदानका लागि गाउँ फर्कनेको चाप बढेको छ ।”
नागरिकता र नामावली गाउँमै भएकाले चुनावका लागि गाउँ आएको पोखरामा बस्दै आएका धवलागिरि गाउँपालिका–८ का नारायण गर्बुजाले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ की सिर्जना शर्माले पनि मतदानका लागि काठमाडौँबाट गाउँमा आएको बताए ।
स्थानीय तह चुनावमा छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले चासो दिने गर्छन् । चुनावको मिति नजिकिएको र बजारबाट मानिस आउन थालेपछि चहलपहल बढेको धवलागिरि गाउँपालिका–७ ताकमका जीवन भण्डारीले बताए । काठमाडौँ र पोखराबाट मतदाता ल्याउन केही उम्मेदवार तथा दलहरुले गाडीनै रिजर्भ गरेका बताइएको छ ।
थोरै मतान्तरले पनि जितहार हुनसक्ने भएकाले चुनाव प्रचारको कामलाई अन्तिम चरणमा पुर्याएका उम्मेदवारको ध्यान जिल्ला, पालिका र वडा बाहिर रहेका मतदाताप्रति गएको छ ।
केही उम्मेदवारले पार्टीको सिफारिस पाउने वित्तिकै मनोनयन दर्ता गर्नु अघिनै काठमाडौँ–पोखरामा पुगेर मत मागेका थिए । राजनीतिक दल सम्बद्ध सम्पर्क समितिले जिल्ला बाहिर प्रचारप्रसार गरेका छन् ।
६ स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस
–––

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया