शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एक महिनामा चार हिमालबाट १७ हजार किलो फोहर संकलन

सगरमाथाबाट मात्रै ६ हजार किलो फोहर संकलन

काठमाडौँ- नेपाली सेनाको 'सफा हिमाल अभियान २०२२' अन्तर्गत चार वटा हिमालबाट १७ हजार किलो फोहर संकलन भएको छ । नेपाली सेना र अन्य सेवा प्रदायकका टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट फोहर संकलन गरेका हुन् ।

नेपाली सेनाका अनुसार चार हिमालबाट कुहिने फोहर २ हजार ६० किलो र नकुहिने १४ हजार ९४० फोहर संकलन भएको थियो ।

सगरमाथाबाट कुहिने फोहर ९ सय ९६ कुहिने  र नकुहिने फोहर ५ हजार ४६९ संकलन भएको थियो । कञ्‍चनजंघाबाट ६ सय ९ कुहिने र नकुहिने फोहर ६ हजार ३ किलो ग्राम संकलन भएको सेनाले जानकारी दिएको छ । मनास्लु हिमालबाट ५ सय ५५ किलो कुहिने र नकुहिने ३ हजार ४६८ किलो फोहर संकलन भएको थियो ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले गत चैत २२ गतेबाट 'सफा हिमाल अभियान २०२२' सुरु भएको थियो । 'सफा हिमाल अभियान २०२२' अन्तर्गत सह-सेनानी राजु श्रेष्‍ठ र सिपाही अमित थापाले कञ्‍चनजंघाको (८५८६ मिटर) सफल आरोहण गरेका थिए ।