शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

फोहोर व्यवस्थापनमा पुनः समस्या

फाइल फोटो

काठमाडौँ - काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ । यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र आज फोहोर व्यवस्थापनको गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  

आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहोर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । 

दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताए । यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । 

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर सिसडोल लैजाने गरिन्छ ।  
  
पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहोर व्यवस्थापनको काम सुरु भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो ।  

स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहोर सडकमा नै थियो ।  

पटकपटकको छलफलमा पनि स्थानीयवासीसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । 

पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो । 

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागको भनाइ छ । 

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन । 

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ ।   रासस