शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सिद्धबाबालाई १५ दिनभित्र झिकाउन अदालतको आदेश

विराटनगर : उच्च अदालत विराटनगरले विवादास्पद धर्मगुरु सिद्धबाबालाई १५ दिन भित्र झिकाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको इजलासले बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई  झिकाउने आदेश दिएको हो । 

‘आजको फैसलालले झझीको आदेश दिएको छ,’ उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘बाटोको म्याद बाहेक झगडिया १५ दिन भित्र आइ सक्न पर्छ ।’ उच्च सरकारी वकिलको कार्यालयले २८ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो । सिद्धबाबाका नाममा शुक्रबार नै अदालतले म्याद जारी गर्ने आदेशसमेत गरेको छ । उच्च अदालतमा हाजिर भएपछि बयान र प्रमण पून बुझ्ने प्रक्रिया हुनेछ । त्यसपछि मुद्दाको पेसी सुरु हुनेछ ।

गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीश नियुक्तिमा सिफारिसमा परेकै दिन गत फागुन २८ गते उच्चमा पुनरावेदन दर्ता भएको थियो । २०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनेर २०७६ मंसिर ११ गते सिद्धबाबाकी महिला अनुयायीले जाहेरी दिएकी थिइन ।