माइक्रोमा सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु

इलाम- कुटपिटपछि घाइते भएका माइक्रोबस (हायस) का चालकको चार दिनपछि ज्यान गएको छ । २० वैशाखमा कुटपिटपछि घाइते भएका नुवाकोट तारकेश्वर गाउँपालिका–२, बगुवाका २१ वर्षीय दीपक ढुङ्गनाको शनिबार झापाको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी काठमाडौँ–इलामको माइक्रो बसका चालक थिए । २० वैशाखको साँझ उनीमाथि कुटपिट भएको थियो ।
कुटपिटपछि गम्भीर घाइते उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । थप उपचारको लागि उनलाई झापा रेफर गरिएको थियो । बिएन्डसीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौँबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई ओरालेर चालक ढुंगाना गाडीबाहिर निस्केका थिए । माइक्रोमा १७ वर्षीया बालिका पछाडिपट्टिको सिटमा थिइन् । उनी रातिको समय भएकाले आफ्ना अभिभावकलाई आफूलाई लिन बोलाएर गाडीमै बसेकी थिइन् ।
त्यसै मौकामा गाडीका सहचालक नुवाकोटको बेलकोट–१३ का विनय वाग्लेले ती बालिकालाई हातपात र जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ । ‘हातपात प्रयास गर्दागर्दै बालिकाका अभिभावक त्यहाँ पुगेपछि वाग्ले भागेछन्,’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भने, ‘सहचालक भागेका बेला चालक ढुंगाना त्यहीं आइपुगेकाले उनीमाथि चाहिँ आक्रमण र कुटपिट भएको देखिन्छ ।’
चालकको मृत्यु भएपछि उनलाई कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध चालकको परिवारले कर्तब्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेका छन् । सहचालक वाग्लेलाई भने प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो । उनीविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यातायात व्यवसायीआवद्ध विभिन्न संघ–संगठनले विज्ञप्ति जारी गरी यातायातका साधनमा कार्यरत श्रमिकको सुरक्षा माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
यी संगठनले मृतक चालकको उपचारमा भएको खर्च, उनका परिवारको पालनपोषणलगायतको उचित व्यवस्थाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
मृतकको शव अस्पतालमानै छ । उपचारमा लागेको खर्च तिर्न समस्या भएपछि शवको पोष्टमार्टम भएको छैन । उनको उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको छ । त्यो रकम पनि कसले तिर्ने भन्ने समस्या छ ।

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

प्रतिक्रिया