‘गर्छु भनेका कुरा चुनावी गफ हैनन्’

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा समाजसेवीसमेत रहेका केशवराज गिरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदका लागि चुनावी मैदानमा छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गिरीले जनताको सेवा र विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन् । चुनावी अभियानका क्रममा गरेका प्रतिबद्धता केवल चुनावी नारा मात्रै नभएको बताउने उनै गिरीसँग इकागजले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।
तपाई किन चुनावी मैदानमा उत्रिनुभयो ?
स्थानीय तह जनताको सरकार हो । जनताले पाउने सेवा सुविधामा यहाँ विभेद भइरहेको अवस्था छ ।
स्थानीय तह विकास तथा सेवा अड्डा हो । यहाँ मैले अस्तव्यस्त प्रणाली देखेको छु । पहुँचवालाको काम पहिल्यै हुन्छ । भ्रष्टाचार बढिरहेको अवस्था छ । हुँदा मात्रै खान पाउनेहरुले स्थानीय तहबाट सेवा लिन निकै चुनौति छ । प्रमुख कुरा अहिलेका जनताले आवश्यक विकास पाएका छैनन् । यी र यस्ता यावत सेवाबाट जनता वञ्चित भएको अवस्था भएकाले यसको सुधारका लागि मैले आफ्नो उम्मेद्वारी दिएको हुँ ।
जति भन्नुभयो, यो न्यूनीकरण गर्न सक्नुहुन्छ त, कसरी ?
म सक्छु, मैले भनेजति गर्न सकेपछि यो नगर समृद्ध हुन्छ । यसका लागि सबैभन्दा पहिले सूचनाको पहुँच आफूसम्म सहजै आउने वातावरण बनाउनेछु । म कहाँ आइपुगेको सूचनालाई सबैभन्दा पहिले जनतासमक्ष पुर्याउँछु । सञ्चारकर्मीसमक्ष पुर्याउँछु । कतै भ्रष्टाचार भएको, सेवा प्रवाहमा जनताको सहज पहुँच नपुगेको, विकासे बजेट कुनै स्थानमा नपुगेको वा लापरवाही भएका जस्ता सार्वजनिक महत्व र चासोका सूचना पाएपछि जनता आफैले बुझ्नेछन् । जनताको लहर अवश्य जाग्नेछ । अनि मैले भनेजस्ता काम हुनेछ । सूचनाको पहुँचले मात्रै पनि यो सम्भव नहुन सक्छ । मैले अन्य उपायका बारेमा पनि सोच बनाइसकेको छु । जसरी हुन्छ जनताले पाएको अधिकारलाई सजिलै पाउने वातावरण सिर्जना गर्नु मेरो अभियान हो ।
स्थानीय तहमा के सुधार गर्नुहुन्छ ?
जहाँ हुनुपर्ने काम भएका छैनन् । यस्ता स्थानको पहिचान गरी आवश्यक विकास गर्नु अहिलेको जरुरी हो । पहुँचका आधारमा विकास हुने परिपाटीले दिउँसो मजदुरी गरेर बेलुकी चुल्हो बाल्नु पर्ने वर्ग पछाडि परेका छन् । यो वर्गलाई पहुँचमा ल्याउनुपर्छ ।
अनि, अहिले एउटा स्थानीय तहमा मात्रै हैन, ठूला–ठूला विकासे अड्डालगायतका ठाउँमा रोजगारीको नाममा आफन्त भर्ती केन्द्र हुन पुगेको अवस्था छ । जहाँ आफ्ना नातेदार, आफन्तले ठाउँ पाएका छन् । त्यसको म विरोधी हुँ । यसले सक्षम र पहुँच नभएकाहरु अवसरबाट वञ्चित हुन पुगेका छन् । यसको सुधार आवश्यक छ ।
तपाईंको जित सुनिश्चित छ, र ?
विश्वास मेरो पहिलो आधार हो । मतदाताप्रति मेरो अगाध स्नेह, प्रेम छ । विश्वास छ । मेरो समर्पणकै कारण पनि मतदाताले मलाई चाहेका छन् किनकि म विकासप्रेमी छु । घर दैलो अभियानका तपाईंले देख्नुभएकै छ जनलहर । अब तपाईं नै भन्नुुुस् मेरो जित सुनिश्चित छैन र ?
जनताले तपाईंलाई किन भोट दिने चैं किन ?
मैले माथि नै भनिसकेको छु । प्रसस्त आधारहरु छन् । म यस्तो गर्छु भनेर भन्नैपर्ने हो भने ठ्याक्कै बुँदामै भन्न पनि तयार छु । फेरि अर्काे कुरा हामी भन्ने मात्रै हैन गर्छाैं पनि । हामीले अथवा मैले यो नगरका लागि यस्तो गर्छु, उस्तो गर्छु जे भनिरहेको छु यो कुनै चुनावी गफ हैन । कुनै नारा हैन । विभिन्न स्थानको अवलोकन, अध्ययन गरेरै मैले विकास निर्माण, पूर्वाधारको बारेमा बोलेको छु र बोल्छु पनि । हामी कुरा हैन काम गर्छाैं । त्यसैले भोट म केशवराज गिरीलाई मात्रै हैन । सबै नेपाली कांग्रेसका उम्मेद्वारलाई दिने हो ।
भोट कांग्रेसलाई दिने भन्नुहुन्छ, जनताले केशवराज खोजेका छन् कि कांग्रेस ?
कांग्रेस र केशवराज एक अर्काको पर्याय हो । हामी मतदातासँग हातेमालो गर्दै अगाडि बढिरहेका छौं । जनतासँग समाहित भएका छौं । उहाँहरुले नै पाइला टेक्ने भूगोल नापेर हामी विशेषतः जनताको अभियन्ता भएर उहाँहरुकै मागमा अनुवाद भएका छौं । त्यसैले पनि जनताले कांग्रेस र केशवराजलाई भोटको जरुरी छ । जनताले बुझेका छन् कि स्याउलेको ओखरेनी डाँडादेखि बनदेउको इन्द्रावती तीरसम्म विकासका लागि कहाँ के सम्भावना छ । त्यो पहिल्याई आवश्यक कदम चाल्नेछु । त्यो केशव एक्लैले होइन सिंगो नगर कांग्रेसले अध्ययन अनुसन्धान गरेको छ । त्यसैले पनि जनताले केशव र कांग्रेस दुवैलाई खोजेका छन् यसपाली ।
स्पष्ट रुपमा भनिदिनुहोस्, तपाईंले यो नगरमा के गर्नुहुन्छ ?
सामान्य कुरा अगाडि नै आएको छ । सबैभन्दा पहिले जनतालाई के आवश्यक छ त्यो अध्ययन गरेर समस्या समाधानमै लाग्नेछु । नगरलाई पक्की सडक सञ्जालले जोडी प्रत्येक वडा छुने गरि चक्रपथ निर्माण गर्ने छौं । गाउँमै रोजगारीको वातावरण सिर्जना गरिनेछ । यो नगरमा एक निश्चित स्थानमा औद्योगिक क्षेत्र स्थापना गरी नगरभित्रका सीप जानेका, शिक्षित, उमेर पुगेका युवायुवतीलाई रोजगार दिइन्छ । कम्तीमा एक घर एक रोजगारीको व्यवस्था गर्नेछु ।
नगर मात्रै हैन जिल्लामा पनि स्वास्थ्य सेवाको अवस्था चिन्ताजनक छ । सबै टोलमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने मेरो अर्काे लक्ष्य हो । हरेक टोलमा बर्थिङ सेन्टर स्थापना गरि मातृ तथा बाल मृत्युदरलाई आगामी पाँच वर्षमा शून्यमा पुर्याउने योजना छ । नगरका सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनका लागि प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिई हरेक टोलमा सुविधा सम्पन्न, अपांग मैत्री, बाल मैत्री, वातावरण मैत्री विद्यालय भवनका लागि जोड दिनेछु । जहाँ फ्रि वाइफाइ, इ–लाइब्रेरी हुनेछ । चौतारालाई नमूना शैक्षिक नगरीको रुपमा विकास हुनेछ ।
विद्युतको समस्या अहिले नगरको समस्या हो । कुनै पनि समय बत्ती नजाने बनाउने गर्नु मेरो अर्काे एजेण्डा हो । पर्याप्त खानेपानी आपुर्ति हुनेछ । ओखरेनी डाँडा, इर्खु डाँडामा चिया खेती विस्तार गर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिने, युवा लक्षित कार्यक्रम थप गरि युवा विदेश पलायन रोक्नेछु । विदेशको कमाई आँगनमै आम्दानी हुने वातावरण बनाउने मेरो लक्ष्य छ । समग्रमा भन्नुपर्दा विकासे योजना र रोजगारी प्रमुख हो ।
यत्ति गर्न सक्नुहुन्छ त ?
अगाडि नै भनिसकें, भन्ने हैन हामी काम गरेर देखाउँछौं । फेरि पनि भन्छु , यो चुनावी नारा हैन । कुनै ललिपप हैन । म यसमा प्रतिबद्धता जनाउँछु ।

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

प्रतिक्रिया