आफूले गर्नुपर्ने निर्णय प्राधिकरणतिरै सोझ्यायो

काठमाडौँ : विद्युत् नियमन आयोगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट भएको विद्युत् आपूर्तिको महसुल निर्धारणउपर उत्पन्न विवाद पुनः विद्युत् प्राधिकरणमै फर्काइदिएको छ । आयोगको हिजो बिहीबार बसेको बैठकले उक्त विवादबारे ‘प्राधिकरणले के कस्तो कारवाही गरिरहेको छ सोको जानकारी आयोगलाई दिन’ भन्दै काइते निर्णय गरेको हो ।
ऊर्जा सचिवको संयोजकत्वमा गठित समिति र विभिन्न अदालतले गरेको फैसलाअनुसार आयोगले नै विवाद निरुपण गर्नु भनी मन्त्रिपरिषद्बाट भएको निर्णयलाई आयोगले पुनः प्राधिकरणकै ढोकामा फर्काइदिएको छ । आयोगको यो निर्णयले उद्योगी र प्राधिकरणबीच २०७२ साल साउन १ गतेदेखिको महुसलसम्बन्धी विवाद अझ लम्बिने भएको छ । महसुलसम्बन्धी प्राधिकरणले करिब १२ अर्ब रुपैयाँ उठाउनुपर्ने देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ट्रंक र डेडिकेटेड लाइन लिएका उपभोगकर्ता र प्राधिकरणबीचको विवाद अध्ययन गर्न मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र प्राधिकरणको प्रतिनिधिसहितको समिति २०७६ साउन १९ गते गठन गरेको थियो । उक्त समितिले २०७७ असार २९ मा तयार पारेको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयनका लागि आयोग र प्राधिकरण पठाएको थियो ।
आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले प्राधिकरणले हालसम्म के कस्ता कारवाही गरिरहेको हो त्यसको विवरण माग गरेको बताए । सचिव समितिको प्रतिवेदनले आयोगबाट दुईवटा विषय निरुपण हुनुपर्ने सुझाव दिएको थियो । पहिलो, २०७२ साउन १ देखि २०७२ पुस २९ र माघ १० सम्मको विद्युत् महसुल दरसम्बन्धी निर्णय हुनुपर्ने । अर्को, लोडसेडिङ अन्त्य भएदेखि (२०७५ जेठ १) २०७७ जेठ ३२ गतेसम्मको विद्युत् महसुल दर । यी दुवै विषयमा आयोगले निर्णय गरेन । जबकि विभिन्न अदालतको फैसला र सचिव समितिको प्रतिवेदनले पनि यी दुई विषय आयोगले नै टुंग्याउनुपर्ने उल्लेख छ ।
प्राधिकरणले २०७२ साउन १ गतेदेखि डेडिकेटेड तथा ट्रंक लाइन उपयोग गरेबापतको प्रिमियम शुल्क लागू गर्ने निर्णय गरेको थियो । नयाँ महसुल दर निर्धारण गर्ने अधिकार प्राधिकरणलाई नभएको भनी उद्योगीले उजुरी गरेपछि प्राधिकरणको प्रस्तावमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले २०७२ पुस २९ गते उक्त नयाँ महसुल दर अनुमोदन गरेको थियो ।
त्यसपछि तत्कालीन आयोगको अनुमोदनविरुद्ध उद्योगीहरुले सर्वोच्च र विभिन्न अदालतमा ३५ वटा रिट दायर भएकोमा डेडिकेटेड फिडरसम्बन्धी १० रिट खारेज र पाँच रिट विचाराधीन छ । यसैगरी ट्रंकलाइनसम्बन्धी परेका १५ रिट खारेज भएका छन् भने पाँचवटा विचाराधीन छन् ।
यस विवादउपर सर्वोच्च अदालतले २०७५ कात्तिक २० गते महसुल निर्धारण गर्ने अधिकार केवल तत्कालीन विद्युत् महसुल निर्धारण आयोगलाई मात्र रहेको र प्राधिकरणलाई नरहेको, उपभोक्ताले उपभोग गरिसकेको वस्तुमाथि पछाडि आएर कुनै प्रकारको थप दायित्व सिर्जना गरी महसुल बढाउनु न्यायोचित र कानुनसम्मत नहुने हुँदा तत्कालीन आयोगबाट २०७२ पुस २९गते निर्धारण भएको महसुल दर अतितप्रभावी ढंगबाट २०७२ साउन १ बाटै असुल उपर गर्न नमिल्ने फैसला गरेको थियो ।
सचिव समितिले लोडसेडिङ अन्त्य हुनुअघिसम्मको सम्बन्धमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका सबै उद्योगबाट प्राधकिरण सञ्चालक समितिको निर्णयानुसार सम्पूर्ण महसुल असुल गर्नुपर्ने सुझाव दिएको छ । लोडसेडिङ अन्त्य भएपश्चात्को सम्बन्धमा उच्च अदालत पाटनबाट २०७६ असोज ५ मा जारी गरेको रिट निवेदन खारेजको फैसलाको व्याख्या बमोजिम विद्युत् नियमन आयोग ऐनको दफा १८ बमोजिम विद्युत् नियमन आयोगको क्षेत्राधिकारभित्र पर्ने हुँदा आयोगबाटै आवश्यक सहजीकरणसहित विवाद निरुपण हुनुपर्ने समितिको सुझाव छ ।
यसैगरी समितिले उल्लेख गरेको २०७२ पुस २९ र माघ १० देखि २०७५ वैशाख ३१ सम्मको विद्युत् महसुल दरसम्बन्धी प्राधिकरण आफैले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया