ओली समूह भन्छ- माधव नेपालसँग मिल्ने सम्भावना ‘न्यून’
काठमाडौँ : सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमाले औपचारिक विभाजनतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपालबीचको ‘इगो’ले एमाले औपचारिक रुपमै विभाजनतर्फ उन्मुख भएको हो ।
शुक्रबार काठमाडौँमा खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णयले यसबारेमा थप स्पष्ट पार्नेछ । तर खनाल-नेपाल समूह नरम भए पनि झन आक्रामक बनेका ओलीका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको नेताहरुको भनाई छ । 'नेपाल समूहसँग मिल्ने कुरा अब धेरै टाढाको विषय भयो' ओली निकट एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने 'नेपाल समूहसँग मिल्ने सम्भावना न्यून छ ।'
गएको शनिबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालसहितका चार नेतालाई स्प्ष्टीकरण सोध्ने निर्णय गरेका थिए । स्पष्टीकरणको जवाफ माधव नेपालसहित चारै जना नेताले ओलीलाई पठाइसकेका छन् । जवाफी पत्रमा आफूलाई कारवाही गर्ने कारणको खोजीभन्दा उल्टै प्रधानमन्त्री ओलीलाई किन कारबाही नगर्ने ? भन्ने आशय छ ।
यसले ओलीलाई झन् चिढ्याउने नेताहरुको बुझाई छ । ओलीले आत्मसम्मान नदिने, पदीय रुपमा पनि जिम्मेवारी बाँडफाँड नगर्ने, विगतका कुरा सम्झेर पेलेरै निर्णय गर्ने कारण मिल्ने सम्भावना कम हुँदै गएको नेताहरुको भनाई छ ।
‘मिल्नुको विकल्प छैन् । तर मिल्ने सम्भावना कम हुँदै गएको छ’ नाम नबताउने शर्तमा ओली पक्षका एक नेताले इकागजसँग भने, ‘दुई नेताको इगोले गर्दा मिल्ने कुरा देखिँदैन् ।’ नेपाल समूहको मुख्य गुनासो ओलीको पेल्ने र एकलौटी प्रवृत्ति हो ।
विगतका दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर ओलीलाई हदैसम्म सताउने काम खनाल-नेपाल समूहले गरेकाले अहिले मिल्न कठिन भएको ती नेताको भनाई छ । ‘स्पष्टीकरण ठूलो कुरा होइन, एकपछि अर्को पत्र पनि जान सक्छ’ उनले थप अगाडि भने, ‘मिलनबिन्दु खोजेर छलफल गर्नुपर्ने हो । तर त्यो देखिँदैन् । इगोले गर्दा छलफल छैन् । खाली मिल्ने कुरा गरेर मात्रै मेलमिलाप हुँदैन् ।’
ओली जत्तिकै आफ्नो समूहको तर्फबाट आक्रामक देखिएको खनाल-नेपाल समूह मिल्नुको विकल्प नभएको बताए पनि कतिसम्म नरम हुने भन्ने एकिन छैन् । शुक्रबार काठमाडौँमा आयोजित बैठकले गर्ने निर्णयमा अब ओलीसँग एकता गरेर एमालेमै रहने वा नयाँ निर्णय लिने ? भन्ने विषयले निर्क्यौल पाउनेछ ।
‘मिल्नुको विकल्प छैन् । तर मिल्ने कसरी भन्ने विषयमा छलफल अगाडि बढेको छैन’ खनाल-नेपाल समूहका एक नेताले भने, ‘अब यो विषय केन्द्रीय कमिटी बैठकले गर्ने निर्णयमा निर्भर छ ।’

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया