आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

निर्वाचनमा मतदान गर्न जाँदा अनलाइनबाट टिकट बुकिङ गर्नेलाई 'सुनको असर्फी'

काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तरगत बस सेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । 

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवा मार्फत अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये ३ जनालाई गोला प्रथा मार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ  । यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स् टिकट प्राप्त गर्नेछन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट  प्राप्त गर्नेछन् । विजेताहरूको घोषणा निर्वाचन सकिएपछि गोला प्रथाबाट गरिने कम्पनीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बस सेवाका प्रमुख कार्यकारी पिआर खनालले बताए । 

उनले भने ‘निर्वाचनमा धेरै भन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ, यो समयमा धेरै मतदाता गाउँ फर्कनुहुन्छ, उहाँहरूलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उद्देश्यले यस किसिमको योजना ल्याइएको हो ’। 

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकोले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बस सेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ । 

बस सेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकटिङ माध्यम हो । बस सेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बस सेवा डटकम, बस सेवाको मोबाइल एप्लीकेशन तथा ई सेवा, फोन पे, खल्ती, प्रभु पे लगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।