गर्मी छल्न तिङ्कर उक्लदै खलङ्गाबासी

दार्चुला - व्याँस गाउँपालिका–१ खलङ्गाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन् । छ महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु तिङ्कर गाउँ पुगेका हुन् ।
व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला छ महिनापछि खुल्न थालेको हो । `पाँच परिवार तिङ्कर पुगिसकेका छन्,` स्थानीय दानसिंह तिङ्करीले भने, `३५ परिवार खलङ्गाबाट मंगलबार हिडेका छन् उनीहरु बाटोमा छन् ।` सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ ।
भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन् । खलङ्गाबाट हिडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि, पाँचौँ दिन छाङ्गरु र छैटो दिन तिङ्कर पुगिन्छ । पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ । तर, हाल स्थानीय भने पाँच÷छ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन् ।
भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा सङ्कलनको कामसमेत हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् ।
तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिङ्कर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ ।
स्थानीय छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिङ्कर बस्छन् तर, तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलङ्गामै छ । यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्दै आएको थियो ।
प्रहरी टोली तिङ्करतर्फ जाने तयारीमा रहेको जनाइएको छ । निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनको लागि मतदान केन्द्र पनि तिङ्करमै तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिङ्कर पठाउने तयारी भएको बताउँछन् । “हामीले प्रक्रिया बढाइसकेका छौँ” उनले भने, “तर हेलिकप्टर कहिले आउँछ भन्ने एकिन भएको छैन ।”
प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको डिएसपी विष्टले बताउँछन् । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको थियो । विष्टका अनुसार प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरि पहल भइरहेको छ ।
छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरी बस्दै आएको छ । साथै, सशस्त्र प्रहरी टोली पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण गरिएको थियो । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया