कर्णालीका सबै दलको चासो वीरेन्द्रनगरमा

सुर्खेत– स्थानीय निहको निर्वाचन नजिकिएसँगै सबै दलहरु प्रचारप्रसार तथा घरदैलोको अभियानमा लागेका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये प्रदेश राजधानीसमेत भएकाले कसले नेतृत्व चलाउने भन्ने विषयमा वीरेन्द्रनगरमा सबैको विशेष चासो छ ।
खासगरी ठूला राजनीतिक दलहरूले वीरेन्द्रनगरलाई महत्वका साथ हेरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धन दल यतिबेला वीरेन्द्रनगरमा बढी नै केन्द्रित देखिन्छन् । अघिल्ला निर्वाचनमा कमै मात्रामा मत प्राप्त भएतापनि राप्रपा भने यसपालीको निर्वाचनमा राम्रो नतिजा ल्याउने आश गरेको छ । राजधानी नगरको हार–जित दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक कमल लम्साल राजधानी समेत भएकाले विरेन्द्रनगरमा सबै दलको नजर पर्नु स्वाभाविक रहेको बताउँछन् । ‘सबै दलले यस नगरलाई चासोका साथ हेरेको अवस्था छ’ उनी भन्छन्, ‘यो उनीहरुको प्रतिष्ठाको विषय पनि हो ।’
अघिल्लो निर्वाचनको मत परिणाम अनुसार वीरेन्द्रनगरमा मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमाले रहेका थिए । ६७ हजार मतदाता रहेको वीरेन्द्रनगरमा १६ वटा वडा छन् । अन्य साना पार्टीकोे जनमत पनि राम्रै भएको मानिन्छ । वीरेन्द्रनगरको चुनावी मैदानमा यसपटक नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ ।
वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने अरु दलहरू एक्ला–एक्लै भिड्दैछन् । कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुखमा संयुक्त उम्मेदवार उठाएका छन् । प्रतिस्पर्धी दलले नगरमा तेस्रो जनमत भएको पार्टीसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । यस्तो परिस्थितिमा राप्रपा र एकीकृत समाजवादीले काट्ने भोट निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
केही दिनयतादेखि दलहरूले उम्मेदवारसहित घरदैलो र चुनावी कोणसभाहरू गरिरहेका छन् । दलका चुनावी अभियान र कार्यक्रममा देखिएको उपस्थितिले पनि मतपरिणामबारे आ–आफ्नै जोडघटाउ सुरु भएका छन् । सबै दलहरु आक्रामक रूपमा चुनावी अभियानमा लागेको देखिन्छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेकाले कांग्रेस दुई पार्टीको आन्तरिक शक्ति पनि जाँच्दै छ । विगतमा कमजोर राप्रपा अहिले केही सुदृढ बनेको आँकलन गरिएको छ ।
त्यस्तै, निर्वाचनमा पहिलोपटक सहभागी भएको नयाँ दल एकीकृत समाजवादीले आफूलाई नगरमा पहिलोपटक परीक्षण गर्दैछ । विगतका निर्वाचन परिणामअनुसार वीरेन्द्रनगरका मतदातास्थिर रहेको देखिन्छ । केही मत तलमाथि भएपनि एमाले र कांग्रेसकै उम्मेदवारले नगरको नेतृत्वमा बाजी मार्ने अवस्था देखिन्छ । गएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको प्रमुखसहित ६ वडा कांग्रेस र उपप्रमुखसहित नौ वडा एमाललेले तथा एउटा वडा माओवादी केन्द्रले जितेको थियो ।
राप्रपाको भने अघिल्लो स्थानीय तह निर्वाचनमा न्यून प्रभाव देखिएको थियो । कांग्रेस र माओवादी केन्द्रले कांग्रेसका नगर कमिटी अध्यक्ष उपेन्द्र खड्कालाई प्रमुख र माओवादी केन्द्रकी शान्ति ढकाललाई उपप्रमुखको साझा उम्मेदवार बनाएका छन् । नेकपा एमालेले मोहनमाया ढकाललाई नगर प्रमुख र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । ढकाल नेकपा ‐एमाले) कि केन्द्रीय सदस्य र यसअघिकी उपप्रमुख पनि हुन् । खनाल एमाले नगर कमिटी अध्यक्ष तथा गएको निर्वाचनमा वडा नं. ४ का निर्वाचित अध्यक्ष हुन् ।
यस्तै विगतमा वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका मुकुन्दश्याम गिरी राप्रपाबाट प्रमुखको उम्मेदवार छन् । उनी राप्रपाका प्रभावशाली नेताका रुपमा पहिचान बनाएका छन् । राप्रपाले वीरेन्द्रनगरको उपप्रमुखमा लक्ष्मीकुमारी विकलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले धना शाहीलाई प्रमुख र वीरबहादुर रावतलाई उपप्रमुखको उम्मेदवार उठाएको छ । सबै दलबाट राजनीति र स्थानीयस्तरमा प्रभाव रहेका व्यक्तिहरू उम्मेदवार बनेकाले पनि वीरेन्द्रनगरको चुनावी परिमाण यसपटक थप रोचक बन्ने देखिएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया