शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

हिजो चुनाव जिताउन एउटै मोर्चामा, अहिले मेयरका प्रतिष्पर्धी

मकवानपुर– आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि चुनावी मैदानमा होमिएका दुई उम्मेदवार राजनीतिक सहकर्मी परेका छन् । ८ महिना अघिसम्म एकै राजनीतिक दलमा सहकार्य गरिरहेका उनीहरुबीच नै हेटौडामा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

यसअघि नेकपा एमालेमा रहेकाहरु पार्टी विभाजनपछि यो चुनावका प्रतिष्पर्धी बनेका हुन् । नेकपा एमालेको उम्मेदवार अनन्त पौडेल र नेकपा एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष गठबन्धनको साझा उम्मेदवार मिनाकुमारी लामा बीचको चुनावी भिडन्त रोचक हुने भएको छ । गठबन्धनपछि हेटौंडामा मेयरको भाग एकिकृत समाजवादीकोमा परेको थियो ।

हेटौडा बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हो । त्यसैले दलहरुले प्रतिष्ठाको रुपमा हेरेका छन् । सत्तागठबन्धनको तर्फबाट साझा उम्मेदवारी बनेकी लामाको राजनीतिक आधार भूमि एमाले नै हो । एमालेबाट राजनीतिक यात्रामा लामो संघर्ष गरेकी लामा हाल समाजवादीमा छिन् । स्थानीय तहको निर्वाचन २०७४ मा माओवादी र कांग्रेस गठबन्धनकोविरुद्ध एमालेबाट उपमेरकी उम्मेदवार बनेकी लामाले ६ हजार ४२६ मतअन्तरमा विजयी हासिल गरेकी थिइन् । आसन्न निर्वाचनमा भने उही कांग्रेस, माओवादीलगायतको गठबन्धनबाट साझा उम्मेदवार हुन् लामा । 

पौडेल र लामा विगतमा नेकपा एमालेमा हुँदा अनेक कालखण्डमासँगै थिए । अनन्त पौडेलले पार्टीको जिल्ला कमिटी नेतृत्व गर्दा लामाले विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्राको थालनी गरेकी थिइन् । पौडेलले जिल्ला कमिटीको नेतृत्वमा हुँदा लामा जनवर्गिय संगठनमा थिइन् ।

२०४६ जनआन्दोलनमा पौडेल पार्टीबाट आन्दोलन सञ्चालन प्रविधि कार्यदलको अग्रेणी नेतृत्वमा थिए भने लामा विद्यार्थी राजनीतिमा पार्टीको निर्देशनमा थिइन् ।
२०५२ सालमा लामा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष हुँदा पौडेलले विद्यार्थीमा राजनीतिक उर्जा भर्दथे, लामा त्यसको नेतृत्व गर्थिन् । २०६४ को संविधान सभाको निर्वाचनमा पौडेललाई पार्टीले उम्मेदवार बनायो । लामा पौडेललगायत पार्टीको उम्मेदवारलाई जिताउन लागि परिन् । तर पार्टीले जिल्लाको ४ वटै क्षेत्रमा चुनाव हार्‍यो ।

२०७० को संविधान सभाको दोस्रो निर्वाचनमा पौडेललाई जिताउन लामाले आफ्नो भूमिका पुनः निर्वाह गरिन् । पौडेलले निर्वाचन जिते ।

२०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भएकी लामाले पार्टीमा आफ्नो परिधि फराकिलो गर्दै आइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा लामालाई उममेयर जिताउन पौडेलले विशेष भूमिका निर्वाह गरे । लामालगायत जिल्लामा बहुमत एमाले उम्मेदवारले जित हासिल गरे । 
२०७८ सालमा एमाले विभाजन हुँदा लामाले नेकपा एकीकृत रोजिन् भने पौडेल एमालेमा अडिग छन् । अब आसन्न निर्वाचनमा उनै पौडेल र लामा मेयरको पदमा आपसमा प्रतिष्पर्धी बनेका छन् ।

‘तर हामीलाई अफ्ठ्यारो छैन’ पौडेलले भने ‘अहिले हामी आपसमा प्रतिष्पर्धी भयौ, यो व्यक्तिगत कुरा हैन,पार्टीको कुरा भयो’ । 

‘राजनीतिमा स्थायी शत्रु र मित्रु भन्ने हुँदैन।’ यता लामा भन्छिन्, ‘दाईहरुसँगै चुनावी मैदानमा आउने अवसर मिल्नु मेरो लागि गौरवको कुरा पनि हो’
यता पार्टी अध्यक्ष एकालाल श्रेष्ठले हेटौंडामा पार्टी विभाजनको असर कम भएको बताए । एकीकृत समाजवादीको भागमा परेको स्थानीय तहमा एमालेलाई सजिलै जित्ने विश्वास लिएको उनले बताए ।

दुबै उम्मेदवारहरु हाल आ–आफ्नो जितका लागि चुनावी दौडधुपमा रहेका छन् । दुवैले आफू र आफ्नो पार्टीको जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । चुनावी प्रचारमा लागेकी मिना र अनन्त दुबैले आफूहरुलाई भोट हाल्नुपर्ने कारण सहितको प्रतिबद्धता पत्र बाँड्दै मतदान गर्न आग्रह गर्दै आएका छन् ।