शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

टी-२० क्रिकेट सिरिज :  आज जिम्वाब्बेविरुद्ध उत्कृष्ट सुरुआत​ गर्ने लक्ष्यमा नेपाल

फाइल तस्‍बिर

काठमाडौं-  जिम्बाब्वे ‘ए' विरुद्धको तीन टी-२० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज मैदान उत्रँदा नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छ । 

अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वेसँग तीन टी-२० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।

नेपालले चैत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक टी-२० खेलको शृंखला भने नेपालले जितेको थियो । त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ । 

नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी२० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो ।

खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । क्यानले शनिबार मात्र ट्वान्टी-२० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।