हरित आर्थिक पुनरुत्थान र समावेशी विकासका लागि जर्मनीको १.४ अर्ब अनुदान

काठमाडौँः जर्मनी सरकारले नेपाललाई १ करोड युरो अर्थात् एक अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
जर्मनीको सहयोगबाट निजी र सार्वजनिक क्षेत्रमा ग्रीडमा आधारित सौर्य उर्जा उत्पादन, सौर्य उर्जामा आधारित सिंचाइ, अर्ध सहरी क्षेत्रमा उद्योगको छानामा सौर्य उर्जा जडान, कृषि फार्महरूमा सोलारहरू राखिने छ ।
यसले समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने बताइएको छ । दुर्गम क्षेत्रमा, यो पहल अन्तर्गत मिनी ग्रीड विकास गरी ग्रामीण जनसंख्यालाई विश्वसनीय विद्युत् आपूर्ति गरिनेछ । यसो गर्नका लागि, प्राविधिक सहयोग पक्ष अन्तर्गत सार्वजनिक र निजी क्षेत्रको क्षमता विकास गरी यस्ता परियोजना कार्यान्वयन गरिने अर्थ मन्त्रालयले जनाएको छ । र वित्तीय पक्ष अन्तर्गत भने लगानी सहयोग प्रदान गरिने उल्लेख छ ।
उक्त अनुदान सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा प्रमुख श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड साफरले हस्ताक्षर गरेका छन् ।
‘जर्मनीले नेपाललाई आर्थिक रूपले चुनौतीपूर्ण समयको सामना गर्न ऐक्यवद्धता जनाएको छ । आर्थिक विस्तारका लागि उर्जा महत्वपूर्ण आधार हो भने यो सहयोगले कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित आर्थिक विकासमा सहयोग गर्नेछ,’ राजदूत रोनाल्डले भने । उनले जर्मनीले नेपालको समावेशी विकास र खासगरी कोभिड–१९ पछि आर्थिक पुनरुत्थानलाई महत्व दिदैं आएको बताए ।
यो अनुदान जर्मन जलवायु प्रविधि पहल (जर्मन क्लाइमेट टेक्नोलोजी इनिसियटीभ) को अङ्ग हो । यसअन्तर्गत जर्मनीले जलवायु परिवर्तनको असर न्यूनीकरण र कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी प्रविधिहरूको विस्तार गरिरहेको छ । यससँगै जर्मनी र नेपालबीच सन् १९५९ मा द्विपक्षीय आर्थिक सहयोग शुरु भएयता कुल सहायता एक अर्ब युरो पुगिसकेको नेपालस्थित जर्मन दूतावासले जनाएको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया