शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सञ्चारमाध्यमले समाजमा भ्रम सिर्जना गर्नु हुँदैन

फाइल फोटो

काठमाडौँ - निर्वाचनको प्रचारप्रसारका क्रममा सञ्चारमाध्यमले समाजमा भ्रम सिर्जना गर्न नहुने पत्रकारहरूले बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा ‘पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारले आचारसंहिताको पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

सहभागीले निर्वाचनमा आफ्नो पक्षको पृष्ठपोषणका लागि समाजमा भ्रम सिर्जना गर्ने खालका समाचार दिन नहुने बताएका हुन् । पत्रकारले महासङ्घको आचारसंहिता कार्यान्वयन मात्रै पनि निर्वाचन आचारसंहिता पालना गरेभन्दा राम्रो र प्रभावकारी हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले आचारसंहिता नैतिकताको हाँगो भएको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेपछि पत्रकारिता क्षेत्र ओझेलमा परेको भन्दै अहिले खोजमूलक समाचारको आवश्यकता रहेको बताए । उनले भने, “निर्वाचनलाई शान्त र भयरहित बनाउनका लागि पत्रकारको अहम भूमिका हुन्छ ।” त्यसमा पत्रकारले पनि आचारसंहितको पालना गर्नुपर्ने उनले बताए । । 

विज्ञापन राख्दा कत्रो राख्ने, समाचार लेख्दा समाजलाई असर नगर्ने गरी लेख्न पर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने उहाँले जानकारी दिए । अहिलेको समयमा आचारसंहिताले सो घोषणालाई प्राथमिकता दिएको उनको भनाइ छ । पत्रकारले राजनीतिक दल वा अन्य कोहीसँग उपहार वा लाभ लिन नहुने उहाँले बताए । उनले भने, “तपाईंहरुले ख्याल गर्ने कुरा भनेको मौन अवधिमा हो ।”

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारले निर्वाचनका समयमा चार क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले भने, “सरकार, निर्वाचन आयोग, दल र मतदातालाई खबरदारी गर्ने काम पत्रकारको हो ।” 

यी चार निकायको भूमिकालाई महत्व दिनु पत्रकारको कर्तव्य रहेको उनले बताए । अहिले नेपाल पत्रकार महासङ्घले आचार संहितामाथि टेकेर निर्णय गरेको भन्दै पत्रकार आचारसंहिताको विपरीत जान नहुने उहाँको भनाइ थियो । उनले भने, “अहिलेको समय नेपालका सञ्चारमाध्यम तटस्थ छन् भनेर देखाउने समय आएको छ ।”

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनलाई भड्किलो बनाउन नदिनका लागि पत्रकार लाग्नुपर्ने बताए । निर्वाचनमा पत्रकारलाई नियोजित ढङ्गबाट समाचार सम्प्रेषणको छुट नरहेको उनको भनाइ थियो ।

पत्रकार रमेश पौडेल र मधुसुदन दवाडीले सूचना दिने नाममा गलत सूचना दिन नहुने बताए । उनले भने, “पत्रकारले आचारसंहिताको ख्याल गर्दै समाजलाई सही सूचना दिनुपर्छ ।” अहिले सामाजिक सञ्जालमा आएका सामाचार हेर्दा राजनीतिक दललाई भन्दा बढी पत्रकारलाई निर्वाचन लागेको भान भएको उनको भनाइ थियो । समाचारले समाज दुई भागमा विभाजन नभई एकढिक्का बनाउनुपर्ने उनले बताए । 

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रतिमा सिलवाल, प्रकाश अर्याल, प्रेम कँडेललगायतले पत्रकारका लागि बनाइएको आचारसंहिता आफैँबाट कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताएका थिए । रासस