शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

३५ सञ्चार माध्यम र ४ न्युज पाेर्टललाई काउन्सिलको कारबाही

काठमाडौं – प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४  न्युज पोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । 

सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उप प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार सञ्चारमाध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।

०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएको थियो । जसमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको थियो जसमा सोही अनुसार प्रकाशन भएको छ । २ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ’ उक्त विज्ञप्तिमा भनिएकाे छ  ‘त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।’ 
        
दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्‍याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउ​ने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।   

‘तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चार माध्यमहरूले विशेष ख्याल गर्नुपर्छ । निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्छ’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने । 
   
काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन, सःशुल्क विज्ञापन प्रकाशन–प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फत समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न÷नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अनुरोधसमेत गरेको छ ।