बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

कोभिड संक्रमण नकारात्मकतातिर गयो : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् । 

यद्यपी अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड-१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको पनि बताए । पूर्णरूपमा नियन्त्रण नहुञ्‍जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्ने बताए ।

उनले भने, ‘३ दिनदेखि लक्षणहरू फेरी नकारात्मकतातिर जान खोज्या होकी, यद्यपी स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडी नै हामीले ध्यान दिनुपर्दछ,' प्रधानमन्त्री ओलीले भने, 'अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड-१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन ।'

एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहने र पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्‍ने, बचाउने काम गर्नु पर्ने प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड-१९ संक्रमणको असर कम परेको भन्दै फेरीपनि असर कम पर्ने बताए । संक्रमण बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन मान्‍नुपर्ने बताए । 

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड-१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गरे ।