रीनाको नृत्य यात्रा : ‘प्रतिभाको आँगन’ देखि लोकदोहोरीको मोडलसम्म

काठमाडौँ- नृत्यमा सानैदेखि मोडल रीना थापा मगरको प्यासन थियो । तर, त्यही प्यासनलाई प्रोफेसन बनाउनेबारे भने उनले सोचेकी थिइनन् । नृत्यमा रुचि भएकाले उनी नृत्य प्रतियोगिताहरूमा भाग लिइरहन्थिन् । यसै क्रममा एनटीभी प्लसबाट प्रसारण हुने डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’मा रीना सहभागी भइन् । प्रतिभाको आँगनमा उनी प्रथम भइन् ।
सन् २०११ यता उनी लोकदोहोरी म्युजिक भिडियोहरूमा व्यस्त छिन् । ‘प्रतिभाको आँगनमा पहिलो भएपछि लोकदोहोरी भिडियोका लागि अफर आउन थाल्यो,’ उनले सुनाइन्, ‘त्यो बेलादेखि अहिलेसम्म निरन्तर यसै क्षेत्रमा काम गरिरहेको छु । म विशेषगरी डान्सिङ बिटका लोकदोहोरी गीतहरूमा काम गर्न रुचाउँछु ।’
रीनाले प्यासनलाई प्रोफेसन मात्र बनाइनन् । पढाइको विषय पनि नृत्य नै रोजिन् । पद्मकन्या क्याम्पसबाट उनले कल्चरल नृत्यमा ब्याचलर्स गरेकी छिन् । उनी नृत्यमै मास्टर्ससमेत गर्ने विचारमा छिन् । ‘नृत्यमा रुचि भएकाले त्यसैलाई मुख्य विषय बनाएर पढ्ने ठूलो रहर थियो,’ उनले भनिन्, ‘नृत्यमा परिवारको पनि राम्रै साथ र सहयोग मिल्यो ।’
पढाइ, प्यासन र प्रोफेसन तीनवटैको तालमेल मिल्दै गएपछि रीनाको व्यस्तता बढ्दै गयो । ‘एकताका सुत्ने, उठ्ने खाने केही कुराको पनि ठेगान हुँदैनथ्यो,’ उनले आफ्ना संघर्ष सुनाइन्, ‘मैले पाँच÷छ वर्षअघि तीजको बेलामा एकैदिन पाँचवटासम्म भिडियोमा नृत्य गरेको छु ।’
रीनाले हालसम्म दुई हजारभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । अहिले पनि उनको दैनिकी लोकदोहोरी म्युजिक भिडियोहरूमै बितिरहेको छ । तर, अहिले लोकदोहोरी म्युजिक भिडियोको चार्म पहिलाजस्तो नभएको उनको अनुभव छ । ‘अहिले पहिला जस्तो दिनको पाँच÷छ वटा म्युजिक भिडियो काम गर्ने अवस्था त छैन । तर, फुर्सदमा पनि बस्नु परेको छैन ।’ कोभिडले अरु पेसा जस्तै म्युजिक क्षेत्रलाई पनि धक्का दिएको उनले बताइन् । अहिले बिस्तारै लयमा फर्किएकाले उनी आशावादी छिन् ।
रीनालाई आधुनिक गीतको भिडियोमा पनि अफर आउँछ । तर, उनी आधुनिकभन्दा लोकदोहोरी गीतमै मोडलिङ गर्न रुचाउँछिन् । ‘मलाई आधुनिकभन्दा लोकदोहोरी भिडियोमै सुहाउँछ जस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यसैले पनि मेरो पहिलो रोजाइ लोकदोहोरी म्युजिक भिडियो नै हुन्छ ।’
रीना मोडलिङकै माध्यमबाट उनी देश विदेश पुगिसकिन् । साँस्कृतिक कार्यक्रमको सिलसिलामा उनी देशका थुप्रै जिल्ला पुगिसकिन् । विदेशमा पनि जापान, कोरिया, मलेसिया, दुबै, कतार, बंगलादेशलगायत दर्जन देशमा पुगिसकिन् । ‘अरु क्षेत्रमा भएको भए यस्तो अवसर विरैल पाइन्थ्यो होला,’ उनले भनिन्, ‘यो क्षेत्रमा लागेर मैले आफ्नो संस्कृतिलाई धेरै देशमा लैजान सकेँ । नृत्यले मलाई धेरैथोक दिएको छ ।’
रीनालाई फिल्ममा अभिनय गर्नमा भने रुचि छैन । तर, उनले पाँच÷छ वटा फिल्मका आइटम गीतमा नाचिसकेकी छिन् । ‘आइटम डान्स पनि मलाई मन पर्छ,’ उनले भनिन्, ‘अभिनयभन्दा नृत्यमै रमाएको हुनाले अभिनयतिर लाग्ने भने सोचेको छैन ।
अहिले मलाई लोकदोहोरी गीतमै ठीक छ ।’ रीना मारुनी, मैथिली, चर्या र काँठेदेखि थारू र देउडा नृत्यमा समेत पोख्त छिन् । लोकदोहोरी म्युजिक भिडियोमा दशकभन्दा लामो समय बिताइसकेकी रीना अझै पनि धेरै कुरा सिक्न बाँकी भएको बताउँछिन् । भविष्यमा नृत्य क्षेत्रमै रहेर काम गर्ने उनको योजना छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया