सनस्क्रिन रोज्दा वा लगाउँदा गरिने १० गल्ती

छालालाई घामको विकिरणबाट बचाउन सनस्क्रिन लगाइन्छ । जाडोभन्दा गर्मी मौसममा छालालाई घामबाट जोगाउन झनै गाह्रो पर्छ । सनस्क्रिनको सम्बन्धमा विभिन्न भ्रम रहेको पाइन्छ । सनस्क्रिन लगाउँदा छाला बिग्रिन्छ, डन्डीफोर आउँछ भनेर प्रयोग नगर्नेहरू पनि छन् । तर, छाला सनस्क्रिन लगाएर होइन सही सनस्क्रिनको छनोट नगरेर बिग्रिन्छ ।
सनस्क्रिन लगाउँदा वा किन्दा हामीले गर्ने १० गल्तीः
१) जाडोमा मात्रै लगाउने
छालालाई घाममा भएको विकीरण (यूभीए र यूभीबी) ले असर गर्छ । यस्ता विकिरणले छाला चाउरी पर्ने, छालाको क्यान्सर हुने, कोठीहरू निस्किने र कालो दाग देखिने गर्छ । गर्मीमा जस्तै जाडोमा पनि हाम्रो छालालाई घामबाट जोगाउनु पर्ने हुन्छ । जाडोमा सनस्क्रिन लगाउनु पर्दैन भन्ने सोच गलत हो । यस्ता विकिरणहरू पोल्ने घाममा मात्र नभएर घामको उज्यालोमा पनि हुने गर्छ । त्यसैले, जाडो र गर्मी दुबै मौसममा सनस्क्रिन लगाउनु उत्तिकै जरुरी हुन्छ ।
२) सनस्क्रिन बाहिर निस्किनु ठ्याक्क अगाडि लगाउने
कतिपयले सनस्क्रिन ठ्याक्क बाहिर निस्किनु अगाडि लगाउँछन् । यो पनि सनस्क्रिन लगाउँदा गरिने गल्ती हो । हामीले सनस्क्रिन बाहिर निस्कनुभन्दा १५–२० मिनेट अगाडि लगाउनुपर्छ । यसका लागि सनस्क्रिनले कसरी काम गर्छ बुझ्नुपर्छ । हामीले लगाउने सनस्क्रिन दुई प्रकारका हुन्छन् । एउटा फिजिकल सनस्क्रिन र अर्को केमिकल सनस्क्रिन । फिजिकल सनस्क्रिनले घामलाई ऐना जसरी रिफ्लेक्ट गर्छ र छालालाई घामबाट बचाउँछ । केमिकल सनस्क्रिनले घामको किरणलाई सोस्छ र छालालाई हानी हुनबाट बचाउँछ । हामीमध्ये धेरैले प्रयोग गर्ने र बजारमा पाइने पनि केमिकल सनस्क्रिन हो । यो सनस्क्रिन छालामा सेट हुन केही समय लाग्छ । त्यसैले हामीले घाममा निस्किनुभन्दा १५ देखि २० मिनेट अगाडि लगाउनुपर्छ ।
३) कोठाभित्र बस्दा सनस्क्रिन नलगाउने
कोठाभित्र बस्दा सनस्क्रिन लगाउनु पर्दैन भन्नु पनि गल्ती हो । हाम्रो छालालाई हानी गर्ने विकिरण घामको उज्यालोमा पनि हुन्छ । कोठाभित्र पनि घामको विकिरण हुने भएकाले त्यसबाट छालालाई बचाउन कोठाभित्र पनि सनस्क्रिन नियमित लगाउनुपर्छ ।
४) धेरै कम एसपीएफ भएको सनस्क्रिन लगाउने
त्यस्तै, हामीले गर्ने अर्को गल्ती भनेको धेरै कम एसपीएफ भएको सनस्क्रिन लगाउनु हो । हामीले कम्तीमा पनि एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउनु पर्दछ । एसपीएफ भनेको ‘सन प्रोटेक्सन फ्याक्टर’ हो । यसले हाम्रो छालालाई कति हदसम्म जोगाउँछ भन्ने जनाउँछ । एसपीएफ १५ भएको सनस्क्रिनले हामीलाई ९३ प्रतिशत जोगाउँछ भने एसपीएफ ३० भएको सनस्क्रिनले ९७ प्रतिशत र एसपीएफ ५० भएको सनस्क्रिनले ९८ प्रतिशत छालालाई जोगाउँछ । एसपीएफले हाम्रो छालालाई यूभीबी भन्ने किरणबाट कति जोगाउँछ भन्ने हो । धेरै एसपीएफको सनस्क्रिन लगाउँदैमा धेरै बेर बाहिर घाममा बस्न मिल्छ भन्ने होइन । तर, कसैलाई घामको एलर्जी, चायापोतोको समस्या वा घामबाट बढ्ने रोगहरू छन् भने धेरै एसपीएफ भएको सनस्क्रिन लगाउनुपर्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको हामीले जहिले पनि ‘ब्रोड स्पेक्ट्रम’ लेखेको सनस्क्रिन प्रयोग गर्नुपर्दछ । यस्तो सनस्क्रिनले यूभीए र यूभीबी दुवै विकीरणबाट जोगाउँदछ । त्यस्तै सनस्क्रिन किन्दा सधैँ पीए प्लस प्लस वा पीए प्लस प्लस प्लस लेखेको सनस्क्रिन किन्नुपर्छ ।
५) एकदमै थोरै सनस्क्रिन प्रयोग गर्ने
अर्को गल्ती एकदम थोरै सनस्क्रिन प्रयोग गर्नु हो । विभिन्न अध्ययनले हामीले लगाउनुपर्नेभन्दा २५ देखि ५० प्रतिशत मात्रै सनस्क्रिन प्रगोग गरिरहेका छौँ भन्ने देखाउँछ । यसको मतलब हामीले एसपीएफ ३० को सनस्क्रिन प्रयोग गर्दा एसपीएफ १० को मात्रै सुरक्षा पाउँछौँ । त्यसैले, हामीले सनस्क्रिन पर्याप्त मात्रामा प्रयोग गर्नु जरुरी छ । मुख, घाँटीमा प्रयोग गर्दा कम्तीमा पनि आधा चम्चा सनस्क्रिन प्रयोग गर्नुहुन्छ ।
६) दिनमा एकचोटी मात्र सनस्क्रिन लगाउने
हामीमध्ये धेरैको बानी दिनमा एक पटक मात्र सनस्क्रिन लगाउने हुन्छ । सनस्क्रिन लगाउँदा हामीले गर्ने यो अर्को गल्ती हो । हामीले कम्तीमा पनि दुई वा तीन घण्टाको फरकमा सनस्क्रिन लगाउनु पर्छ । हामीले प्रयोग गर्ने सनस्क्रिन भनेको केमिकल सनस्क्रिन हो । यस्तो सनस्क्रिनमा भएको पदार्थलाई हाम्रो छाला वा वातावरणका तत्वहरूले मेटाइदिन्छ । त्यसैले दिनभरीमा बारम्बार सनस्क्रिन लगाउनु पर्दछ ।
७) दोस्रोपटक सनस्क्रिन लगाउँदा मुख धुने
एक पटक सनस्क्रिन लगाएपछि अर्को पटक लगाउँदा मुख धुने बानी गर्नु हुँदैन । धेरै पटक मुख धुँदा हाम्रो छाला बढी सुख्खा हुने गर्दछ । विशेष गरेर ११ देखि ३ बजेसम्म घामका विकिरण धेरै हुने भएकाले यो बेला बाहिर निस्किदा सनस्क्रिन लगाएर निस्किनु पर्छ । साथै छाता ओड्ने र ह्याट लगाउने बानी पनि गर्नुपर्छ ।
८) अरु एसपीएफ भएका प्रडक्टले सनस्क्रिन जस्तै काम गर्छ भन्ने सोच
अरु एसपीएफ भएका प्रडक्टले सनस्क्रिन जस्तै काम गर्छ भन्ने सोच गलत हो । धेरैजसो मेकअप र म्वइस्चराइजरमा हुने एसपीएफ ३० भन्दा कम हुने भएले ती प्रडक्टहरू सुरक्षित हुँदैनन् । त्यस्ता प्रडक्टहरू वाटर रेसिस्टेन्स पनि हुँदैन । म्वइस्चराइजर र सनस्क्रिन एउटैमा भएको प्रडक्ट छान्ने हो भने एसपीएफ ३० भन्दा बढी भएको हुनुपर्छ । त्यो सनस्क्रिन जस्तै दिनमा दुईदेखि तीन पटकसम्म लगाउन मिल्ने खालको हुनुपर्छ ।
९) बेलुका पनि सनस्क्रिन लगाउने
बेलुका पनि सनस्क्रिन लगाउनु अर्को गल्ती हो । बेलुका ४ बजेपछि लगाइएको सनस्क्रिनको खासै काम हुँदैन । त्यसले राम्रोभन्दा नराम्रो असर गर्दछ । सनस्क्रिन लगाएर सुत्दा चिल्लो छाला भएका वा डण्डिफोर आउनेहरूमा ग्रन्थीको प्वाल थुनेर डन्डिफोर बढ्ने संभावना हुन्छ । त्यसैले बेलुका सुत्ने बेलामा सनस्क्रिन लगाएर सुत्नु हुँदैन ।
१०) गलत खालको सनस्क्रिनको प्रयोग गर्ने
गलत खालको सनस्क्रिनको प्रयोग गर्नु अर्को गल्ती हो । सनस्क्रिनको प्रयोग गर्दा हामीले आफ्नो छालाको प्रकार बुझेर मात्र प्रयोग गर्नुपर्दछ । चिल्लो छाला वा डन्डीफोर आउने छाला छ भने ‘वाटर बेस्ड’ सनस्क्रिन प्रयोग गर्नुपर्छ । छाला सुख्खा छ भने ‘क्रिम बेस्ड’ सनस्क्रिन प्रयोग गर्नुपर्छ । त्यस्तै सिजनअनुसार सनस्क्रिन फरक–फरक प्रयोग गर्नुपर्छ ।
(डा. आचार्य छाला तथा यौन रोग विशेषज्ञ हुन् ।)

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया