आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कीर्ते नागरिकता बनाउने एकै परिवारका छ भारतीयलाई कैद

फाइल तस्‍वीर

सप्तरी : कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । 

जिल्ला न्यायाधीश रीता बखे्रलको इजलाशले गङ्गाधरलाई तीन वर्ष कैद र रु २० हजार जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुई/दुई वर्ष कैद र १०/१० हजार जरिवाना, बुहारी गुलावदेवी र ममतादेवी तथा नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।
    
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ की बिल्टीदेवी यादवको जग्गाधनी पुर्जामा उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गङ्गाधरको नागरिकतामा पनि उल्लेख भएको पाइएपछि कारवाही प्रक्रियाअगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपलेश्वरकी श्रीमती बिल्टीदेवी गङ्गाधरकै सासू हुन् । सामाजिक परम्परानुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गरेका गङ्गाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन् । सुभद्रादेवी भने डाक्नेश्रीस्थित माइत बस्ने गर्छिन् ।
    
सासूको नागरिकता नम्बर कीर्ते गरी आफ्नो बनाएका गङ्गाधरले मतदाता नामावली परिचयपत्रसमेत बनाई मतदान गर्दै आएका छन् । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गङ्गाधरकै कीर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
    
जिल्ला प्रशासन कार्यालयमा डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवबाट कात्तिक १६ गते उजुरी परेपछि प्रशासनले छानबिन गर्न लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरुको नागरिकता कीर्ते रहेको ठहर भएको हो । रासस