सीएनआईले भन्यो: अर्थतन्त्र पुनर्बहाली हुँदैछ, संकट भनेर बाँदरको घाउ जस्तो नकोट्याउँ

काठमाडौँ– पछिल्लो समय नेपाली अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्दै ‘संकट आउँदैछ’ भन्ने चर्चा–परिचर्चा व्याप्त हुनथालेपछि अत्यास (प्यानिक)को स्थिति आउन सक्ने भन्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)ले सचेत गराएको छ ।
‘अर्थतन्त्र ठीकठाक छ भनेको होइन, तर बिग्रेको पनि छैन । बरु पुनर्बहाली हुँदै हामी स्थायित्वतिर जाँदैछौ,’ सीएनआईका अध्यक्ष विष्णु अग्रवालले पत्रकार सम्मेलनमा भने, ‘कतिपय गलत र (नियोजित) भ्रमपूर्ण सूचनाहरूका कारण अर्थतन्त्रप्रति विश्वास गुम्ने स्थिति पैदा नगरौं ।’
अर्थतन्त्रमा संकट आउँदा देखिने कुनै पनि लक्षण नेपालमा देखिएका छैनन् । तर, अनावश्यक हल्लाका कारण पर्यटनदेखि लगानी समेत प्रभावित हुने संकेत आफूले पाएको सीएनआईका उपाध्यक्ष अनुज अग्रवालले भने, ‘संकट नै नभई यहाँ संकट आयो भनेर अतिशयोक्तीपूर्ण कुरा गर्न थाल्यौं भने को लगानी गर्न आउँछ ?’
उनले केही दिन अघिमात्रै आफूलाई दुबईबाट व्यक्तिगत चिनापर्चीका साथीहरूले ‘नेपाल घुम्न आउँ भनेको तिमीहरूकोमा आर्थिक संकट छ रे हो ?’ भनेर सोधेको पनि उनले बताए ।
उनले यस्ता अतिरञ्जनाले मुलुकका लागि प्रत्युत्पादक हुने बताए । ‘सामान्यतः आर्थिक संकटमा उपभोग घट्छ, बेरोजगारी अत्याधिक हुन्छ, दैनिक जनजीवन र सार्वजनिक सेवा प्रवाह प्रभावित हुन्छन्, मूल्य वृद्धि अत्याधिक हुन्छ, सामाजिक अशान्तिको वातावरण हुन्छ,’ उनले भने, ‘यस्ता कुनै पनि प्रारम्भिक लक्षण नेपालमा छन् र !’
उनले नेपाल र श्रीलंकाको अर्थतन्त्रको तुलनै गर्न नमिल्ने बताए । श्रीलंकाले अन्तर्राष्ट्रिय पुँजीबजारबाट छोटो भाका र बढी ब्याजदरको ऋण लिएको छ । श्रीलंकाको बाह्य ऋण उसको कुल गार्हस्थ उत्पादनभन्दा धेरै छ । ‘नेपालको बाह्य ऋण १० खर्ब भन्दा कम साथै लामो भुक्तानी अवधि र सहुलियत ब्याजदरमा आधारित छ,’ उनले भने, ‘विदेशी विनिमय सञ्चिति पनि निरपेक्ष रूपमा घटेको होइन, कोभिड–१९ महामारीमा आयातको वृद्धिदर कम भएर केही बढेको थियो । अहिले आयात बढ्दा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम केही तीव्र भएको हो ।’
अहिले नेपालसँग ६.७ महिनाको वस्तु र सेवाको आयात धान्न पुग्ने ९.५८ अर्ब अमेरिकी डलर सञ्चिति छ ।
यस आर्थिक वर्षको सुरुवाती महिनामा रेमिट्यान्सको आप्रवाह पनि अघिल्लो वर्षकै हाराहारीमा आइसकेको छ । निर्यातको आधार नै सानो भएकाले राम्रो वृद्धिका बाबजुद पनि यसको सशक्त उपस्थिति देखिन नसकेको सीएनआईको भनाई छ ।
अर्थतन्त्रमाथि विश्वास बढाउँदै उत्पादन, रोजगारी र लगानी बढाउन सीएनआईले आह्वान समेत गरेको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया